अन्तर्राष्ट्रिय

किमसँगको शिखर वार्ताबारे ट्रम्प फेरि बोले !

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुने भनिएको शिखर वार्ता निर्धारित समयमै हुने भएको छ ।

आगामी जुन महिनाको १२ मा सिंगापुरमा हुने भनिएको सो शिखर वार्ता स्थगित भएको भनी अमेरिकी राष्ट्रपति ट्रम्पले नै घोषणा गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रुपमा उक्त वार्ता स्थगित गरिएको सूचना बिहीबार एकाएक सार्वजनिक भएको दुई दिनपछि शनिबार फेरि सोही मितिमै वार्ता हुनेमा आफू ढुक्क रहेको बताएका हुन् ।

शनिबार साँझ ह्वाइट हाउसमा उपस्थित भएका सम्वाददाताहरुसमक्ष उनले भने– हामी पूर्व निर्धारित मितिमै वार्ता गर्ने पक्षमा छौँ, जुन १२ मा नै हामी सिंगापुरमा भेट्नेछौँ ।

उत्तर कोरियासँगको शिखर वार्ता समयमै हुन्छ, यसका लागि हामीले वार्ताको माध्यमबाट धेरै नै प्रगति गरेका छौँ, मलाई लाग्छ हाम्रो र उत्तर कोरियाको तर्फबाट पनि अभूतपूर्व रुपमा प्रगति जारी रहेको छ ।

उत्तर कोरियाली राष्ट्रपति किमको आक्रोसका कारण उक्त वार्ता स्थगन गर्नुपरेको अमेरिकी राष्ट्रपति ट्रम्पले बिहीबार मात्र बताएका थिए ।  तर समाचारमा आएजस्तै फेरि उक्त वार्ता समयमै सम्पन्न गर्नेगरी परिस्थिति अघि बढेको बताएपछि भने पुनः कोरियाली प्रायद्वीपमा शान्तिको आशा जागेको बताइएको छ ।

सो सिंगापुर शिखर वार्ता अमेरिकी राष्ट्रपति ट्रम्पले एकतर्फी रुपमा स्थगित गरेको सूचना दिएपछि उत्तर कोरियाले आफू दुःखी भएको बताएको थियो ।
साथै राष्ट्रपति ट्रम्पको उक्त पत्र प्राप्त भएलगत्तै नै उत्तरका नेता किमले आफू अमेरिकासँग वार्ताका लागि जुनसुकै समय पनि तयार रहेको प्रतिक्रिया दिएका थिए ।

कोरियाली वार्ताले सहमति भयो
उता दक्षिण कोरियाले भने उत्तर कोरियासँग वार्ताका लागि अर्को मिति तोक्ने तयारीमा लागिरहेको बताएको थियो ।  यी दुई देशबीचमा पनि मन्त्रिस्तरको बैठक स्थगित भएको र उता अमेरिकाले पनि सिंगापुर वार्तामा बस्न नसक्ने जानकारी गराएकोले त्यसको मध्यस्थतास्वरुप भूमिका निर्वाह गर्ने काम दक्षिण कोरियाले गरेको बताइएको थियो ।

अमेरिकाले एकतर्फी रुपमा वार्ता स्थगित गरेपनि अहिलेसम्म यी दुई देशबीच विकसित सकारात्मक वातावरणलाई कायमै राखिराख्न उत्तर कोरियालाई सम्पर्कमै राख्ने नीति दक्षिण कोरियाले लिएको हो ।

यसै प्रयास बमोजिम नै दक्षिण कोरिया र उत्तर कोरियाबीच शनिबार अकस्मात भेटवार्ता भएको छ । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तरका नेता किम जोङ उनबीच शनिबार सीमा क्षेत्रमा रहेको एक गाउँ पानुमजोममा भेट भएको हो ।

यी दुई नेताले गत अप्रिल २७ मा एक महत्वपूर्ण शान्ति सम्झौता गरेका छन् । उक्त सम्झौतालाई एक महत्वपूर्ण उपलब्धिका रुपमा लिइएको छ ।
दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले उक्त वार्ताका क्रममा आजसम्म विकसित सकारात्मक वातावरणलाई जोगाइराख्न आगामी दिनमा पनि वार्ताका प्रयासहरुलाई जारी राख्ने सहमति भएको जनाएको छ ।

उनीहरुको भेटवार्ताका क्रममा गत अप्रिल २७ मा भएको पानमुनजोम शान्ति सम्झौताकोे कार्यान्वयनबारे एक आपसमा विचार विमर्श र अनुभव आदानप्रदान भएको समाचारमा जनाइएको थियो ।

उनीहरूले उत्तर कोरियाली नेता तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने भनिएको सिंगापुर शिखर वर्तालाई कसरी सफल पार्ने भन्ने विषयमा समेत छलफल गर्नुभएको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ ।

शनिबारको उक्त शिखर बैठकमा भएका सहमति र कुराकानीका बारेमा स्थानीयलाई आइतबार बिहान जानकारी गराउने कार्यक्रम रहेको ब्लु हाउसले जनाएको थियो । सोही बमोजिम नै यी सहमतिका कार्यक्रमहरु आएका हुन् ।

अमेरिकाले सिंगापुर वार्तामा नबस्ने भनी अकस्मात उत्तर कोरियालाई पत्र लेखेपछि उत्तर र दक्षिणका नेताकाबीचमा यो भेटवार्ता भएको थियो ।

त्यस क्रममा उत्तरका नेताले आपूm अमेरिकासँग जुनसकै समय र स्थानमा पनि वार्ता गर्न तयार रहेको जानकारी गराएपछि त्यो कुरा दक्षिण कोरियाका राष्ट्रपतिको कार्यालयमार्फत अमेरिकालाई जानकारी गराइएको छ ।

यस उच्च बैठकपछि पुनः अमेरिका निर्धारित मितिमै वार्ता गर्न तयार भएको समाचार आएको अधिकारीहरुले जनाएका छन् । -रासस÷एएफपी