पर्यटन/संस्कृति

फेवाताल अतिक्रमण गर्ने रिसोर्ट सञ्चालक विज्ञ समूहमा छानिएपछि…

काठमाडौं । फेवातालको मापदण्ड मिचेर वाटरफ्रन्ट रिसोर्ट सञ्चालन गरेका सुनील शाक्य पर्यटन विज्ञसमूहमा मनोनीत भएका छन् । विवादित व्यक्ति विज्ञसमूहमा मनोनयन भएपछि पोखरामा विभिन्न पार्टीका नेता तथा नागरिक समाजबाट विरोध भएको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पार्क भिलेज वाटरफ्रन्ट रिसोर्ट प्रालिका सञ्चालक सुनील शाक्यलाई विज्ञसमूहमा राखेपछि आलोचना भएको हो । झन्डै एक महिनाअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी अध्यक्ष रहेको विज्ञसमूहको २९ सदस्यीय समूहमा शाक्यलाई २८औँ नम्बरमा मनोनयन गरिएको हो ।

राष्ट्रिय सम्पदा संरक्षण समिति नेपालका अध्यक्ष रामबहादुर पौडेलले मन्त्री आफैं अध्यक्ष रहेको समितिमा ताल अतिक्रमण गरेर विवादित बनेका व्यक्तिलाई मनोनयन गरिनु सर्वोच्च अदालतको आदेशकै अपमान भएको बताए ।