अन्तर्राष्ट्रिय

किम र मुनबीच किन भयो आकस्मिक भेटवार्ता ?

काठमाडौं । उत्तर कोरियाका शासक किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच शनिबार आकस्मिक भेटवार्ता भएको छ ।

दुई मुलुकको सीमास्थित गैरसैन्य क्षेत्र पानमुनजोनमा भएको भेटवार्ता अमेरिका र उत्तर कोरियाको शिखर वार्ता गराउनेमा केन्द्रित रहेको मुनको कार्यालयले जनाएको छ ।

अमेरिका र उत्तर कोरियाबीच सफलतापूर्वक वार्ता गराउने विषयमा दुई नेताबीच विचार आदान–प्रदान भएको बताइएको छ ।

बिहीबारमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन १२ का लागि तय भएको अमेरिका–उत्तर कोरिया शिखर वार्ता रद्ध गरेका थिए ।

तर, पछि उनले किमसँगको आफ्नो वार्ता टरिनसकेको अभिव्यक्ति दिएका थिए ।

ट्रम्प र किमबीच वार्ता अगाडि बढे कोरियाली प्रायद्वीपको निःशस्त्रीकरण र तनाव कम गर्ने विषयले मुख्य प्राथमिकता पाउनेछ ।

यसअघि, राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले आफ्नो पारमाणविक अस्त्र नस्ट नगरे ‘किमको नियति लिबियाका तत्कालीन शासक कर्णेल गद्धाफीकोजस्तो हुने’ चेतावनी दिएका थिए ।

यसलगत्तै उत्तर कोरियाले पूर्वनिर्धारित् योजनाअनुसार नै पुङगेरीस्थित आफ्नो पारमाणिक परीक्षणस्थल नस्ट गरेको थियो ।

यद्यपि, विरोधाभाषपूर्व अभिव्यक्तिहरुका कारण ट्रम्प र किमबीचको वार्ता थप अन्योल बनेको थयो ।

उत्तर कोरियाली शासक किम र दक्षिण कोरियाका राष्ट्रपति मुनबीच दोस्रोपटक भेटवार्ता भएको हो । (एजेन्सी)