देश

विपद् जोखिम न्यूनीकरण प्रशिक्षण

नगरकोट । विपद् जोखिम न्यूनीकरण तथा मानवीय सेवासम्बन्धी विषयमा गरिने बहस पैरवी प्रशिक्षण नगरकोटमा शनिबार सम्पन्न भएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा मानवीय सेवाका क्षेत्रमा भक्तपुरमा कार्यरत सरोकारवाला निकायको बहस÷पैरवी क्षमतामा अभिवृद्धि गराउने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको हो । प्रशिक्षणमा बहस/पैरवी परिचय, सरोकारवालाको भूमिका परिदृश्यमा आधारित, समुदायको अगुवाइमा सञ्चालित बहस/पैरवी—नागरिक सशक्तीकरण, विपद् व्यवस्थापन चक्रको पुनः ताजगी, बहस/पैरवीका सवालको पहिचान, बहस/पैरवीका गतिविधिको प्राथमिकीकरण, सरोकारवालाको विश्लेषण, लक्षित सरोकारवालासँग बहस/पैरवी कार्यका लागि मागको विकास, बहस/पैरवीसम्बन्धी सन्देश सम्प्रेषण गर्न उपयुक्त मञ्चको पहिचान, बहस/पैरवीका औजार, सन्देश तयार गर्ने, कार्य योजनालगायत विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक रुपमा अभ्यास गरिएको थियो ।

समापन कार्यक्रममा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका सभापति मनोजकुमार थापाले रेडक्रसले प्रदान गर्ने मानवीय सेवाका बारेमा सरकारी तथा गैरसरकारी निकायहरुलगायत आम जनसमुदायलाई जानकारी गराई विपद् जोखिम व्यवस्थापनको क्षेत्रमा हातेमालो गर्दै अगाडि बढ्नका लागि बहस/पैरवीको महत्व रहेको बताए ।
मानवीय सेवाका क्रममा बहस/पैरवी गर्दा उद्देश्य एकै भएका अन्य संस्था तथा समूहसँग पनि सहकार्य गर्नुपर्नेमा जिल्ला शाखा भक्तपुरका मन्त्री परशुराम पाण्डेले जोड दिए ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाद्वारा सञ्चालित उत्थानशील नगर प्रवर्धन र सहभागिता कार्यक्रमअन्तर्गत सञ्चालित तीनदिने बहस पैरवी प्रशिक्षणमा २५ जनाको सहभागिता रहेको थियो ।