पर्यटन/संस्कृति

विराटनगर–पोखरा हवाई उडान शुरु हुने – मन्त्री अधिकारी

विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विराटनगर–पोखरा हवाई सेवा चाँडै शुरु हुने बताएका छन् ।

विराटनगर नागरिक उड्डयन कार्यालय कार्यालयद्वारा आज यहाँ आयोजित ‘विराटनगर विमानस्थलको भावी विकास तथा विस्तारका सम्भावना तथा चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले अन्तरप्रदेशीय सम्बन्धका लागि पहिलो चरणमा यहाँबाट पोखरा हवाई उडान शुरु गर्ने बताए ।

मन्त्री अधिकारीले आगामी वर्षको बजेटमा विराटनगर र नेपालगन्जलाई क्षेत्रीय विमानस्थलको विकास गरी भारतबाट हवाई रुट प्राप्त हुनाले यस क्षेत्रवाट छिमेकी देशका शहरमा ७२ सिटे विमानवाट सेवा सञ्चालन गर्न दुुई विमान कम्पनी तयार रहेको जानकारी दिए ।

उनले भारतीय पर्यटकलाई यस क्षेत्रको हिमाल अवलोकन गर्ने कार्यलाई सहज र सरल बनाउने सुझावलाई ध्यानमा राखी प्राविधिक अध्ययन गरी विराटनगरबाट नै हिमाली अवलोकन उडान केही दिनभित्रमा शुरु हुने विश्वास दिलाए ।

मन्त्री अधिकारीले मुलुकको व्यापार घाटा कम गर्न तथा यस क्षेत्रमा रहेको धार्मिक पर्यटकीय क्षेत्रमा भारतीय पर्यटकलाई हेलिकप्टरमार्फत हेलेसी, पाथीभरालगायत धार्मिक क्षेत्रमा भ्रमण गराउने कार्यमा आफ्नो सहयोग हुने बताए । उनले तेस्रो देश तथा छिमेकी पाहुनाको सहज, सरल र सुविधायुक्त बसोबासका लागि विराटनगरमा ६÷७ वटा पाँच तारे होटल खोल्नुपर्नेमा जोड दिए ।

उनले विराटनगर भन्सार क्षेत्रमा भवनको व्यवस्था भएमा यस क्षेत्रमा अस्थायी रुपमा अध्यागमन कार्यालय खोल्न सकिने बताए । मन्त्री अधिकारीले काठमाडौँमा हवाई ट्राफिक धेरै भएकाले थप विमानलाई अन्य ठाउँमा राख्ने व्यवस्था मिलाइएको उल्लेख गर्दै राष्ट्रिय विमानस्थल नीति बनाएपश्चात नै नयाँ विमानस्थलको निर्माण कार्य हुने बताए ।

प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगर विमानस्थललाई २० वर्षे सोचका साथ विस्तार गर्नुपर्नेमा जोड दिँदै यहाँबाट हिमाली उडान भएमा भारतको विहार, पश्चिम बंगाल र उत्तर प्रदेशलगायत क्षेत्रबाट अत्याधिक भारतीय पर्यटक आउने धारणा व्यक्त गरे ।

सांसद भानुभक्त ढकालले यस क्षेत्रको धार्मिक पर्यटक क्षेत्रलाई पर्यटकमैत्री बनाउनुका साथै यहाँबाट प्रदेशका सबै क्षेत्रमा उडान हुनुपर्नेमा जोड दिए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम परालुलीले विराटनगर विमानस्थलको रनवे विस्तारमा सहयोग रहने उल्लेख गर्दै यहाँबाट लुक्ला हवाई सेवा सञ्चालन गर्नुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले विमानस्थल आवतजावतका लागि चाँडै नै नगर बस सञ्चालन गरिने बताउँदै अधिकरण गरिएको जग्गाको काम ९९ प्रतिशत सम्पन्न भएको बताए ।

अन्तरक्रियामा पूर्वसांसद ऋषिकेश पोखरेल, उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायलगायतले विराटनगर विमानस्थल विस्तार गरी यहाँबाट सबै प्रदेशका साथै भारतीय यात्रुलाई आकर्षित हिमाली उडान गर्नुपर्नेमा जोड दिएका थिए

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजीव गौतमले विराटनगर विमानस्थलबाट बिहान ६ देखि राति १० बजेसम्म उडान अवतरण गर्न सकिने बताए ।

सो अवसरमा विराटनगर विमानस्थलको विस्तार र सुरक्षाका लागि विमानस्थल पूर्व अधिकरण गरिएको साँढे चार बिघा जग्गाको मुआब्जाबापतको रु ६८ करोड रकम आगामी असार १ गतेदेखि वितरण गरिने बताइयो ।