साहित्य

‘उत्तम शान्ति पुरस्कार’ शर्मालाई

काठमाडौँ । विसं २०७४ को ‘उत्तम शान्ति पुरस्कार’ गैरआख्यानकार दीनानाथ शर्मालाई प्रदान गरिएको छ ।

ताम्रपत्र र नगद रु ५० हजार राशिको यो पुरस्कार विसं २०४४ देखि प्रदान गरिँदै आइएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीमा प्राप्त गैरआख्यानका साहित्यिक कृतिमध्येबाट छनोट समितिले निर्णय गरेका व्यक्तिलाई पुरस्कार दिइन्छ । शर्मालाई ‘बाह्रखरीको बोटमुनि’ कृतिका लागि यो पुरस्कार दिइएको हो ।

पुरस्कार ग्रहण गरेपछि पूर्वमन्त्री एवं राष्ट्रियसभाका सदस्य शर्माले जीवनको उत्तरार्धको समय पूर्णरुपमा साहित्य क्षेत्रमै बिताउने बताए ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले कुँवर विशिष्ट सोच भएको साहित्यिक पत्रकारका रुपमा स्थापित भएको सुनाए ।

कुँवरले विसं २०१७ को राजनीतिक परिवर्तनपछि ‘रुपरेखा’ नामक साहित्यिक पत्रिका शुरु गरेको उनले सुनाए । कार्यक्रममा वरिष्ठ समालोचक प्रा डा वासुदेव त्रिपाठी, प्रा गोपीकृष्ण शर्मा, गुठीका अध्यक्ष डा पार्थिवेश्वर तिमल्सिना, सचिव ठाकुरप्रसाद पराजुली, कोषाध्यक्ष सुदीप ठाकुरलगायतले स्वर्गीय कुँवरले साहित्यिक पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरे ।

स्व कुँवरलाई ’स्रष्टा र साहित्य’ नामक कृतिका लागि मदन पुरस्कारसमेत दिइएको सो अवसरमा जानकारी गराइयो । उहाँको निधनपछि श्रीमती शान्ति कुँवरले रुपरेखालाई निरन्तरता दिएका थिए ।