राजनीति

सामाजिक न्यायकालागि दलितलाई आरक्षणः मुख्यमन्त्री राउत

लहान । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले सामाजिक न्याय र समृद्धिका लागि दलित समुदायलाई आरक्षण आवश्यक भएको बताएका छन् ।

सिराहा जिल्लाको लहानमा दुईदिनदेखि जारी २ नं. प्रदेशस्तरीय दलितसभालाई आज सम्बोधन गर्दे मुख्यमन्त्री राउतले सामाजिक न्यायबिना विकास र समृद्धि सम्भव नभए जस्तै दलित समुदायको आरक्षणबिना सामाजिक न्याय र समृद्धि सम्भव नभएको बताए ।

“सामाजिक न्यायबिना कुनै पनि विकास सम्भव छैन”, मुख्यमन्त्री राउतले भने, “सामाजिक न्याय तबमात्र सम्भव छ, जब दलित समुदायलाई राज्यको हरेक तहमा आरक्षण लागू हुन्छ ।”

समग्र दलितको अधिकार र मुक्तिका लागि दलितहरू एकैथलोमा आएर संघर्ष गर्नुको विकल्प नभएको उल्लेख गर्दै उनले दलितहरू एकैठाउँमा आएर संघर्ष गर्न नसकेसम्म दलितको अधिकार र मुक्ति सम्भव नहुने दाबी गरे ।

दलित सरोकार मञ्च, नेपाल र डिग्निटी इनिसिएटिभको संयुक्त आयोजनामा आयोजित दलितभेलाको समापन कार्यक्रममा राष्ट्रियसभाका सदस्य रामप्रित पासवानले दलित समुदायलाई राज्यले विभेद गर्दै आएकाले क्षतिपूर्तिस्वरुप आरक्षण जरुरी रहेको बताए ।

समापनका अवसरमा दलितभेलाका सहभागीबाट आएका सुझावलाई समेटेर तयार गरिएको लहान घोषणापत्र मुख्यमन्त्रीलाई बुझाइएको थियो ।

सभामा राष्ट्रियसभा सदस्यसहित प्रदेश नं. २ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने नौ दलित सांसदहरूका साथै २ नंं प्रदेशअन्तर्गत सबै जिल्लाका स्थानीय तहमा निर्वाचित दलित जनप्रतिनिधि र दलित राजनीतिक नेता÷कार्यकर्ता, अधिकारकर्मी गरी १२० जनाको सहभागिता रहेको थियो ।