आर्थिक

नेपाली हाते कागज उद्योग सञ्चालनमा

बाबियाचौर । मालिका गाउँपालिका–५ देवीस्थानमा नेपाली हाते कागज उद्योग सञ्चालन भएको छ ।

स्थानीय युवा खगेन्द्र पुनले वेष्ट नेपाल लोत्ता पेपर एण्ड हेण्डीक्राफ्ट उद्योग स्थापना गरेर नेपाली कागज र विभिन्न सामग्री उत्पादन गर्न थालेका हुन् ।

जंगलमा खेरगइरहेको अर्गेलीको लोत्ताको सदुपयोग, रोजगारी सिर्जना र स्थानीयवासीको आयआर्जन वृद्धिका लागि उद्योग सञ्चालन गरेको २७ वर्षीय उद्यमी पुनले बताए ।

वैदेशिक रोजगारीको विकल्पमा गाउँमै उद्यम, व्यवसाय गरेर स्वरोजगार बन्ने लक्ष्यसहित उद्योग सञ्चालन गरेको उनले बताए ।

रु पाँच लाख लगानी गरी दर्ता प्रक्रियामा रहेको सो उद्योगमा चार जनाले नियमित रुपमा रोजगारी पाएका छन् । जंगलमा लोत्ता संकलन, ढुवानी र प्रशोधनको काममा थप दशजना आवद्ध छन् ।

उद्योग सञ्चालन भएपछि देवीस्थान, रुम, ओखरबोट, बिम, निस्कोट, ताकम, मुना, गुर्जा, मराको जंगलमा वर्षांैदेखि खेरगइरहेको लोत्ताको सदुपयोग भएको छ ।

लोत्ता बेचेर समुदायले आम्दानी गर्ने अवसर पाएका छन् । स्थानीयवासीले जंगलमा संकलन गर्ने लोत्ता खरिद गरिदिने सञ्चालक पुनले बताए ।

यही जेठ महिनादेखि सञ्चालन भएको उद्योगबाट दैनिक एकदेखि तीन कोरी नेपाली कागज उत्पादन हुन्छ । तौल अनुसार प्रतिकोरी कागजको हालको बजार मूल्य रु आठ सयदेखि छ हजारसम्म पर्छ । सरकारी प्रशासनिक काममा प्रयोग हुने नेपाली कागजबाट फाइल, डायरी, नोटबुक, ल्याम्प सेट लगायतका सामग्री समेत बनाउन सकिन्छ ।

मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले लघु उद्यम विकास रणनीतिअनुसार कागज, अल्लो पुवा जस्ता स्थानीय स्रोत साधनमा आधारित उद्यमलाई प्रर्वद्धन गरिने बताए ।

सीपमूलक तालीम, अनुदानमा उपकरण वितरण जस्ता कार्यक्रम रहेका उपाध्यक्ष बिटालुले बताए ।