शिक्षा

एक महिने ट्रेकिङ गाइड तालीम सुरु

पोखरा । टे«किङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले पदयात्रा पर्यटनलाई व्यवस्थित एवं प्रभावकारी बनाउने लक्ष्यकासाथ एक महिने ट्रेकिङ गाइड तालीम सुरु गरेको छ ।

प्दयात्रामा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण निकै बढिरहेको अवस्थामा यसको व्यावसायिक विकासका लागि तालीम आवश्यक भएको महसुस गरी यसलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउन तालीम आयोजना गरिएको टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दीपकराज अधिकारीले बताए ।

“पदयात्रा क्षेत्रमा पर्यटकको संख्या बढाउन र यसतर्फ उनीहरूलाई आकर्षित गर्न मुख्य हात ट्रेकिङ गाइडको हुन्छ,” उनले भने, “एक महिने ट्रेकिङ गाइड तालीममा प्रदेश नं ४ र मुलुकका विभिन्न भागबाट गरी ३४७ जना सहभागी छन ।”

टान पश्चिमाञ्चल क्षेत्रीय संघ स्थापनाको २५ औं वर्ष पुगेका अवसरमा यस किसिमका तालीम एवं क्षमता अभिवृद्धि लगायतका कार्यक्रमलाई प्राथमिकता दिइएको उनले बताए ।

तालीमको उद्घाटन गर्दै प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पदयात्रा पर्यटनलाई अझै व्यवस्थित एवं प्रभावकारी बनाउन तालीम उपयोगी बन्ने विश्वास व्यक्त गरे ।

नेपाल आउने पर्यटकमध्ये अधिकाशं पर्वतीय पदमार्गका लागि आउने गरेको उल्लेख गर्दै उनले गाउँगाउँमा सडक बनाउने क्रमले पदमार्ग छोटिनुका साथै पर्यटकको बसाइँ समेत छोटिन गएको अवस्थाप्रति सबै गम्भीर बन्नुपर्ने बताए ।

मन्त्री लम्सालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शनपछि यस क्षेत्रमा भारतीय धार्मिक पर्यटकको संख्यामा वृद्धि भएको बताउँदैे अधिकांश भारतीयमा मुक्तिनाथ जानैपर्छ भन्ने धारण भए पनि हामी नेपालीले आफ्नै देशमा रहेको मुक्तिनाथ मन्दिरको प्रचारप्रसार गर्न नसकेको धारणा व्यक्त गरे ।

“ठूलो संख्यामा भारतीय धार्मिक पर्यटक बढाउन सके पनि समग्र प्रदेशले विकासमा फड्को मार्छ” उनले भने, “मुक्तिनाथको आवागमन सहज बनाउन मुस्ताङको कोरलादेखि नवलपुरको त्रिवेडीसम्म सडक निर्माण कार्यलाई प्रदेश सरकारले प्राथमिकताका साथ अघि बढाएको छ ।”

मन्त्री लम्सालले पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गरी पोखरालाई पर्यटन केन्द्रको रुपमा विकास गर्न लागेको जानकारी दिँदै यहाँको आगामी बजेट पर्यटन केन्द्रित हुने बताए ।

पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल सम्पन्नसँगै सन् २०२२ मा नेपालमा २५ लाख पर्यटक भित्र्याउने सरकारको योजना सफल पार्न पर्यटन व्यवसायीको महत्वपूर्ण भूमिका हुनेमा पनि उनले जोड दिए ।