आर्थिक

शेयर बजारः अर्ब बढीको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा यस साता रु एक अर्ब ९२ करोड २७ लाख ३१ हजार बराबरको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १८३ कम्पनीको ४१ लाख ३७ हजार ४३० कित्ता शेयर कारोबार भएको हो ।

कारोबार रकम गत साताकोभन्दा ७७ दशमलव ७१ प्रतिशत बढी हो । गत साता १७६ कम्पनीको २३ लाख २९ हजार ४४० कित्ता शेयर रु एक अर्ब आठ करोड १९ लाख ४१ हजारमा खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २० दशमलव ९७ अंकले घटेर अन्तिम दिन १३१८ दशमलव २२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा चार दशमलव ३७ अंकले घटेर २७७ दशमलव ८९ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड संस्थापक अग्रस्थानमा छ । सो बैंकको रु २२ करोड ८५ लाख बराबरको शेयर कारोबार भएको थियो ।

त्यसैगरी कारोबार भएको शेयर संख्या आधारमा पनि नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । सो बैंकको तीन लाख ९६ हजार कित्ता शेयर कारोबार भएको स्टकले जनाएको छ ।

यस साता नेपाल स्टक एक्सचेञ्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।