अन्तर्राष्ट्रिय

अमेरिका कोरिया वार्ता भाँडिनुका कारण यस्तो !

–एकराज पाठक/ काठमाडौँ । गएको शुक्रबार उत्तर कोरियाले आफ्ना शक्तिशाली आणविक परीक्षणस्थल भत्काएको केही क्षणमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उत्तर कोरियासँग अर्को महिना हुने भनिएको शिखर वार्ता अहिलेलाई स्थगित भएको घोषणा एकाएक गरे ।

यसलाई उत्तर कोरियाले आफूहरुमाथिको अविश्वास भनेको छ । बिहीबार उत्तर कोरियाले ती पारमाणविक परीक्षणस्थलहरु भत्कायो र त्यसको साक्षी राखेको थियो अमेरिका, चीन, बेलायत, दक्षिण कोरियालगायतका पत्रकारहरु । ती पत्रकारले उत्तर कोरियाले आणविक परीक्षणस्थल भत्काएकोे आवाज सुनेको, देखेको समाचार सम्प्रेषण गरे । तर यस लगत्तै अमेरिकाले भने यस्तो घोषणा गर्यो जसलाई कोरियाले नमिठो मानेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको यो घोषणा आएपछि उत्तर कोरियाले भनेको छ—हाम्रो इमान्दारिता र सदासयतालाई कमजोरीका रुपमा लिइयो, दक्षिण कोरियासँगको ऐतिहासिक तथा बृहत शान्ति सम्झौतापछि त्यस सम्झौता बमोजिम नै हामीले काम गरिरहेका छौँ तर दक्षिण कोरिया र अमेरिकाले हाम्रोमात्र दोष देखेका छन्, हाम्रो लचकतालाई महत्व दिएनन् ।

कोरियाको तर्क किन पनि सत्य हो भने गत अप्रिल २७ मा दुई कोरियाबीच यस्तो ऐतिहासिक भेट र सम्झौता भयो कि जुन यी दुई देश सन् ६५ वर्षअघि टुक्रिएपछि राष्ट्रपतिस्तरमा यसरी कहिल्यै भेटेका थिएनन् । अकस्मात विकसित कूटनीतिक सम्बन्धको यसरी विकास भयो कि यसमा उत्तर कोरियासमेत आणविक अस्त्र उत्पादन रोक्नेमात्र नभएर दुई कोरियाले युद्ध अन्त्यसम्मको सम्झौता गरे । यसलाई महत्वपूर्ण उपलिब्धका रुपमा विश्वव्यापी लिइयो । त्यसयता पनि दुई देशबीच उच्चस्तरका भेटवार्ता भएको छ र परिस्थिति सौहार्द बन्दैछ ।

राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा वार्ता हुने भएको थियो । सो वार्ताप्रति दुवै देश बडो इच्छुक पनि थिए । त्यस वार्ताको मिति तय गर्नुअघि अमेरिका र उत्तर कोरिया तथा दक्षिण कोरियाका उच्चस्तरीय भेटवार्ताहरु भए । राष्ट्रपति ट्रम्पले त्यस भेटमा अभूतपूर्व प्रगति हुने कुरा पनि समय समयका ट्वीटहरुबाट आएका थिए । उता उत्तर कोरियाको वार्ताप्रतिको अग्रसरता पनि शब्दमा निकै देखिएको हो, तर यसले सार्थकता पाउन भने सकेन ।

ठीक महिनादिन अघि दुई कोरियाबीच शिखर वार्ता शान्ति भएपछि अमेरिकासँगको पनि वार्ताको कुरा सुरुभयो । वार्ताको प्रस्ताव सुरुमा अमेरिकाले राख्यो, उत्तर कोरियाले स्वीकार गर्यो । राष्ट्रपति ट्रम्पका सुरु सुरुका ट्वीटहरु हेर्दा लाग्दथ्यो यी दुई देशबीचको आधा शताब्दि लामो सत्रुताको अब छिट्टै अन्त्य हुदैछ । वातावरण करिब महिनादिनसम्म त्यस्तै पनि रह्यो ।

तर पछिल्लो हप्ता भने अनायासै प्रस्तावित वार्ताबारे नकारात्मक समाचारहरु आउन थाले । उत्तर कोरियाले दक्षिणमा जारी रहेको अमेरिकासँगको संयुक्त सैन्य अभ्यास तुरुन्त रोक्न आग्रह गर्यो । उत्तरले भन्यो— उक्त सैन्य अभ्यास रोकिएन भने आपूmले दक्षिण तथा अमेरिकासँगै पनि वार्ता गर्दैनौँ । उत्तर कोरिया हप्ता दिनअघिको दक्षिण कोरियासँगको मन्त्रिस्तरको बैठकमा अनुपस्थित भयो । र उसले भन्यो, यदि सो सैन्य अभ्यास रोकिएन भने अमेरिकासँग पनि वार्तामा बसिँदैन ।

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले गएको बुधबार उत्तर कोरियामाथि एउटा ठूलो आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, वार्तामा बस्ने त होइन कि उत्तर कोरियाको हालत लिबियाको जस्तो हुनुपर्छ । उहाँको आसय थियो लिबियाका पूर्व शासक माउमर गद्दाफिजस्तै उत्तर कोरियाको पनि हालत हुनेछ । वार्ताको वातावरण तयार भइरहेका बेला अकस्मात पेन्सबाट आएको यस अभिव्यक्तिप्रति उत्तर कोरिया आक्रोसित भयो । उसको आक्रोसले अमेरिकालाई पनि क्रुद्ध बनायो । तर यो गल्ती आफ्नो होइन भन्छ उत्तर कोरिया । यसरी वार्ताका लागि बनेको वातावरण एकपछि अर्कोगरी विथोलिँदै गयो ।

सिंगापुरमा हुने वार्ताप्रति अमेरिका र कोरियाहरु मात्र नभएर विश्व नै बढी उत्सुक थियो । विश्वमा आणविक अस्त्रको प्रतिश्पर्धाको त्रास फैलिएको बेला उत्तर कोरिया नै शान्तिका लागि तयार भएको खबरले झन एसियाली क्षेत्र र अझ बढी दुवै कोरियाली नागरिकमा शान्तिको आशा छाएको थियो । अझ कोरियाली नागरिकमा त करिब ६५ वर्षअघि छुट्टिएको पीडालाई एकै कोरिया भएर आफ्ना परिवारका छुट्टिएका सदस्यहरुसँग बाँकी समय बिताउन पाइएला कि भन्ने झिनो आशाले पनि छोएको थियो । तर त्यो आशामा बिहीबार अकस्मात तुषारापात भएको महसुश उनीहरुको छ ।

सन् १९५३ मा कोरिया टुक्रिएर दुई कोरिया बन्न पुगेको र त्यसपछि जो जहाँ छन् त्यहीँ बस्नुपर्ने भएकोले एकै परिवारका सदस्यहरु पनि दुई देशका नागरिक मात्र नभएर ‘शत्रु’ का रुपमा बाँच्नुपरिरहेको पीडालाई कम गर्नसके हुन्थ्यो भन्ने कामना गरिरहेका छन् ।

कोरियामा विकसित नाटकीय परिवर्तनले संसारमा नै सकारात्मक तरङ्ग भने ल्याएको छ । र उत्पन्न यस तरङ्गका कारण कोरियाली प्रायद्धीपहुँदै विश्वसम्मै शान्तिको आशाको सञ्चार भएको छ । बारम्बारको क्षेप्यास्त्र परीक्षण र अमेरिका र दक्षिण कोरियामाथि नै आक्रमणको धम्कीका कारण गएको वर्षभरि लगभग विश्व राजनीतिको केन्द्रमा रहेको र अमेरिका तथा विश्वकै टाउको दुखाई बनेको उत्तर कोरियाली नेतामा अहिले देखापरेको यो नरमपनले शान्ति र सौहार्दको रुप लिन सकोस भन्ने मनोकांक्षा यतिखेर विश्व र अझबढी त कोरियाली नागरिक छन् ।

वार्ता रोकिएको पत्र बिहीबार राष्ट्रपति ट्रम्पले उत्तरका नेता किमलाई पठाउनुभएको छ । पत्रमा धेरै कटुता छैन । उनले लेखेका छन्, तपाईँहरुतर्फको आक्रोस र दुस्मनीको भावले गर्दा यो शिखर बैठक जुन १२ मा नगर्नेमा अमेरिका पुगेको छ तर वार्ता सधैँलाई स्थगित होइन । अनि उनले नेता किमलाई फोन गर्नु पनि भनेका छन् । फेरि त्यस पत्र पढिसकेपछि उत्तरका नेता किमले पनि आफूहरु अमेरिकासँग जुनसुकै समय पनि वार्तामा बस्न तयार छौँ भनेका छन् ।

अमेरिका अझै पनि केही शर्त उत्तर कोरियाले पूरा गर्नुपर्छ भन्छ तर उत्तर कोरिया आफूले गर्नुपर्ने भन्दा बढी गरेका छौँ भन्छ । शान्ति सम्झौता बमोजिम नै अणु अस्त्रको उत्पादन नगरेको तथा परीक्षणस्थल पनि भत्काएको तर यसको मूल्यांकन नभएको उत्तर कोरिया बताउँछ । तर पनि यतिखेर विश्वको चासो र खोजीको विषय हो— अमेरिका कोरिया वार्ता किन भाँडियो र कहिले हुन्छ रु यी हरेक प्रश्नले शिखर वार्ता र कोरियाली प्रायद्धीपमा शान्ति खोजेको छ । -विभिन्न एजेन्सीको सहयोगमा