पर्यटन/संस्कृति

श्रीलंकाली खाना महोत्सव शुरु

काठमाडौँ । स्थानीय याक एण्ड यति होटलमा श्रीलंकाली खाना महोत्सव शुरु भएको छ । यही जेठ १९ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले  यहाँ आयोजित एक समारोहमा उद्घाटन गरे ।

त्यसअवसरमा उनले दुई देशबीचको सांस्कृतिक सम्बन्ध प्रवर्धनमा खाना महोत्सवले थप योगदान गर्ने विश्वास व्यक्त गरे ।

नेपालका लागि श्रीलंकाका राजदूत डब्लुएस पेरेराराले श्रीलंका र नेपालबीचको कूटनीतिक सम्बन्ध ६० वर्ष पुरानो भए पनि जनता–जनताबीचको सम्बन्ध शताब्दीऔँ पुरानो रहेको बताए ।

उनले भने, “बुद्धको जन्मस्थल नेपाल हरेक श्रीलंकालीका निम्ति पवित्र तीर्थस्थल हो, धर्म र संस्कृतिले हाम्रो सम्बन्धलाई अझ प्रगाढ एवं सुदृढ तुल्याएको छ, यस्ता खाद्य महोत्सवले आर्थिक सम्बन्ध विस्तारमा पनि मद्दत गर्छ ।”

महोत्सवमा ८३ वर्षीय श्रीलंकाली पाककलाका जानकार डा पुबिस सिल्भाले पस्कने विविध परिकारको स्वाद लिन पाइनेछ ।