खेलकुद

एबी डिभिलियर्सको सन्यासले सबै आश्चर्यचकित, उनका दौतरीले यसो लेखे !

काठमाडौं । चर्चित क्रिकेट खेलाडी एबी डिभिलियर्सले आफ्नो १४ वर्षे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेसँगै विभिन्न प्रतिक्रिया आईरहेका छन् । डिभिलयर्सले अचानक सन्यास लिने घोषणा गरेकाले पनि बढी प्रतिक्रिया आएका हुन् ।

उनी उत्कृष्ट लयमै थिए । इन्डियन प्रिमियर लिग (आईपीएल) मा उनले सुपरम्यानले झैँ हावामा उडेर एउटा हातले बल क्याच गरेका थिए । डिभिलियर्सको यो अचानकको निर्णयले सबैलाई निराश त बनाएको छ नै तर उनको यो निर्णयले सबैभन्दा निराश बनाएको छ ३३ वर्ष पुराना साथी तथा क्लासमेट रहेका फाफ डू प्लेसिसलाई ।

यस्तै मित्रता थियो सचिन तेन्दुलकर तथा विनोद कांबलीबीच । उनीहरु दुवै मुम्बईको शारदा आश्रम विद्यालयमा पढ्थे । त्यहीँबाट नै उनीहरुले खेल जगतमा आफ्नो प्रारम्भिक यात्रा सुरु गरेका थिए । त्यस्तै डिभिलियर्स र डू प्लेसिस पनि दक्षिण अफ्रिकाको प्रिटोरियामा रहेको एफीस स्कुलमा पढ्थे । त्यहीँ उनीहरु क्रिकेट खेल्थे र मिलेर अरुलाई सताउँथे ।

डिभिलियर्सले सन्यासको घोषणा गरेसँगै डू प्लेसिसले इन्स्टाग्राममा भावूक हुँदै आफूहरुको सम्बन्धका बारेमा लेखेका छन् । उनी लेख्छन्, ‘तिमीसँग खेलेका पलहरु मैले धेरै सम्झनेछु । क्रिकेट मैदानम हामीबीच थुप्रै सम्झनलायक साझेदारी छन् । अब हामी हरियो र सुनौलो जर्सीमा सँगै नखेल्ने कुरा थाहा पाउँदा म अति नै दुःखी भएको छ । तिम्रो याद सधैँ आउनेछ ।’

दुवैको बाल्यकाल
दुवै क्रिकेटर सानोमा चकचके स्वभावका थिए । त्यसैले कोच र शिक्षकहरुले धेरै मेहनत गर्नु परेको थियो । एफीस स्कुलमा १९ वर्षदेखि क्रिकेट सिकाइरहेका कोच डियोन बोट्सका अनुसार यी दुई क्रिकेटरलाई सम्हाल्न निकै कठिन हुन्थ्यो । डू प्लेसिसले आफ्नै जुत्तालाई किक हान्दै हिँड्थे । उनी पढाईमा पनि त्यति राम्रा थिएनन् । डिभिलियर्सको भने पढाई औसत थियो । उनी जसोतसो ६० प्रतिशत चाहिँ कटाउँथे । -एजेन्सीको सहयेगमा