आर्थिक

नीति तथा कार्यक्रममाथि छलफल जारी

काठमाडौँ । समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने लक्ष्यका साथ सरकारद्धारा प्रस्तुत भएको आव २०७५/७६ को नीति तथा कार्यक्रममाथिको छलफल आजबाट प्रतिनिधिसभामा शुरु भएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिबाट यही जेठ ७ गते संघीय ससद्को दुबै सदनको संयुक्त बैठकमा गरिएको सम्बोधनमा उल्लेखित नेपाल सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका कोटीमा स्तरोन्नति गर्ने लक्ष्य राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।

नीति तथा कार्यक्रममाथि संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभामा) आजदेखि लगातार तीन दिनसम्म छलफल हुने कार्यसूचीे छ । उक्त नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रारम्भिक प्रतिक्रियामा असल निबन्धको संज्ञा दिएको छ, भने सत्तारुढ दलले जनताको आर्थिक समृद्धि र विकासमुखी रहेको स्पष्ट गरेको छ ।

सरकारले नीति तथा कार्यक्रमलाई मूर्तरुप दिन जनताका लागि काम गर्ने, सबैसित मिलेर हातेमालो गर्दै अगाडि बढ्ने र भ्रष्टाचार नियन्त्रण गरी सुशासन दिने प्रतिबद्धता जनाएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले सरकारको नीति तथा कार्यक्रमका आधारमा यही जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्नेछन् ।

निर्धारित समयभन्दा ४५ मिनेट ढिलो शुरु भएको प्रतिनिधिसभाको आजको बैठकमा उक्त नीति तथा कार्यक्रममाथिको छलफलमा पहिलो वक्ताका रुपमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले २०४६ सालको परिवर्तनपछि नेपाली काँग्रेसले लिएको उदार अर्थनीतिका कारण आज मुलुकभर सकारात्मक परिणाम देखिरहेको छ भने ।

काँग्रेको नेतृत्वमा तीन तहको निर्वाचन सम्पन्न भई मुलुकमा राजनीतिक स्थायित्व र संविधान कार्यान्वयन भएको उल्लेख गर्दै उनले सरकारले विकास र समृद्धिका लागि भनेर अनेक कार्यक्रम घोषणा गरेपनि कार्यान्वयन गर्ने स्पष्ट खाका यसमा उल्लेख छैन बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले मुलुकका ठूला आयोजना कार्यान्वयन गर्ने स्पष्ट मार्गचित्र नीति तथा कार्यक्रममा नदेखिएको उल्लेख गर्दै सबै नेपाली राष्ट्रवादी भएकाले कसैलाई पनि राष्ट्र र राष्ट्रियताको पाठ पढाउन आवश्यक नरहेको टिप्पणी गरे ।

निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढने सम्बन्धमा सरकारको नीति तथा कार्यक्रम चुकेको उल्लेख गर्दै उहाँले नेपालमा लगानी आकर्षण गर्ने योजना नीति तथा कार्यक्रममा नभएको स्पष्ट पारे ।

पूर्वसभामुख एवं नेकपाका सांसद ओनसरी घर्तीले सरकारको नीति तथा कार्यक्रम नेपालको संविधानको मर्म र भावनाअनुसार समाजवाद उन्मुख रहेको बताउँदै प्रत्येक नेपालीको आय पाँच वर्षमा दोब्बर पु¥याउने योजना ठिक मार्गमा अघि बढेको छ भने ।

सबै प्रकारका सिण्डिकेट अन्त्य गर्ने योजना नीति तथा कार्यक्रममा आउनु महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले देशको भू राजनीतिलाई चुनौतीको रुपमा हैन, अवसरको रुपमा लिएर अघि बढ्नुपर्नेमा जोड दिए ।

दुबै छिमेकी मुलुकबाट नेपालले कसरी धेरै फाइदा लिनसक्छ त्यसतर्फ अझ छलफल गर्न आवश्यक रहेको धारणा उनले व्यक्त गरे ।