स्वास्थ्य

जोशी बने अमेरिकी विश्वविद्यालयका पहिलो नेपाली डीन

काठमाडौं । तनहुँमा जन्मेर अमेरिकामा बसोबास गर्दै आएका डा जीत जोशी एक अमेरिकी विश्वविद्यालयको पहिलो नेपाली डीन बनेका छन् ।

आजभन्दा झण्डै तीन दशकअगाडि अमेरिका पुएका उनी हाल अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जेल्समा बस्दै आउनुभएको छ । डा जोशी क्यालिफोर्निया स्टेट युनिभर्सिटी लङ्बीच युनिभर्सिटीका डीन एवं सोही विश्वविद्यालयको अन्तर्राष्ट्रिय शिक्षा विभागका उपाध्यक्षसमेत हुन् ।

केही समयअगाडि नेपाल आएका उनी नेपालको शिक्षा प्रणालीलाई रोजगारमूलक बनाउन व्यावसायिक शिक्षामा जोड दिन जरुरी रहेको बताउछन् । “नेपालको शिक्षा घोकन्ते खालको भएकाले यसमा आमूल परिर्वतन गरी नेपाली शिक्षालाई रोजगारमूलक बनाउनु जरुरी छ”, उनी भन्छन् । रासससँग कुरा गर्दै उनले अमेरिकामा राज्यको आवश्यकतालाई हेरेर विश्वविद्यालयले सोहीअनुरुपको जनशक्ति उत्पादन गर्ने भएकाले कसैले बेरोजगार बस्नु नपर्ने बताए ।

अमेरिकामा कक्षा १२ पछि सबैलाई अनिवार्य व्यावसायिक शिक्षा प्रदान गरिने प्रचलन छ भन्दै उहाँ त्यसले विद्यार्थीमा सैद्धान्तिक ज्ञानको अलावा व्यावहारिक ज्ञानसमेत प्राप्त हुने बताउछन् । “व्यवसायिक शिक्षाले सजिलै रोजगारी प्राप्त गर्न सकिनेछ,” उनी भन्छन् । अमेरिकी शिक्षा प्रणालीलाई अहिले विश्वका अन्य विकसित मुलुकले पनि अवलम्बन गर्दै गइरहेको उनको भनाइ थियो । पछिल्लो समय अध्ययनका लागि अमेरिका जाने नेपालीको संख्या उल्लेख्य रुपमा बढेको छ भन्दै उनले माध्यमिक शिक्षापछि दुई वर्ष व्यावहारिक ज्ञानसहितको शिक्षा हासिल गरेपछि उच्च शिक्षाका लागि अमेरिका आउँदा ज्यादै सजिलो हुने उनको सुझाव छ ।