समाचार

बजेटमा पर्वतले गौरव गर्ने ठाउँ पाउँछ: अध्यक्ष तिमिल्सिना

फलेवास, पर्वत । जिल्लावासीले आशा गरेअनुसार नै यस वर्षको बजेटमा पर्वतले गौरव गर्ने ठाउँ पाउने आश्वासन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले दिएका छन् ।

विभिन्न क्षेत्रमा क्रियाशील अगुवाको मंगलबार साँझ भएको भेटघाट कार्यक्रममा तिमिल्सिनाले बारीबेनीदेखि पर्वत, स्याङ्जा हुँदै तनहुँ गैँडाकोट जोड्ने कालीगण्डकी लोकमार्गलाई राष्ट्रिय गौरबको योजनाका रुपमा बजेट विनियोजन हुने जानकारी दिए । कालीगण्डकीको देब्रे किनार हुँदै बन्ने यो लोकमार्ग बेनीदेखि गैँडाकोटसम्म बागलुङ हुुँदै जाने कालीगण्डकी करिडोरभन्दा ११० किलोमिटर छोटो पर्ने भएकाले यो सडकलाई पनि राष्ट्रिय गौरबको आयोजनाको रुपमा अघि बढाउन बजेट विनियोजन हुने तिमिल्सीनाले बताए ।

गुल्मीको रिडी हुँदै पर्वतको सेतीवेणीबाट डाँडैडाँडा लुंखु, आर्थर—चित्रे हुँदै भदौरेबाट पोखरा जोड्ने सडक पनि राष्ट्रिय गौरवको योजनामा समावेश हुने जानकारी तिमिल्सिनाले दिए । यो सडक तिमिल्सिनाकै पहलमा यसअघि क्षेत्रीय सडकका रुपमा काम भइरहेको थियो ।

यसैगरी प्रदेश नं ४ र ५ को आर्थिक, सामाजिक, पर्यटन तथा कृषि क्षेत्रमा ठूलो महत्व राख्ने एक हजार मेगावाट क्षमताको कालीगण्डकी बहुउद्देश्यीय परियोजनाको पूर्व सम्भाव्यता अध्ययनका लागि यस वर्षको बजेटमा कार्यक्रम समावेश हुने पनि अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । पर्वत, बागलुङका स्थानीय तह तथा जनप्रतिनिधिहरुले यो परियोजना लागू गराउन अभियान थालेका छन् ।

यो परियोजना सञ्चालनमा आएमा एक हजार मेगावाट विद्युत् उत्पादन हुने, कालीगण्डकीमा ६० किलोमिटर क्षेत्रमा जल यातायात चलाई पर्यटक भित्र्याउन सकिने, कालीगण्डकी किनारका फाँटमा सिँचाइको सुविधा पु¥याउन सकिने सम्भावना छ ।

यसबाहेक कुस्मादेखि कैया जोड्ने मोटरेबल पुल, गिज्यान जोड्न मोदीखोलामा पुल, क्याङ जोड्न पातीखोलामा मोटरेबल पुल तथा पाङदेखि बागलुङ जोड्ने ५०० मिटर लामो झोलुङ्गे पुलका लागि पनि बजेट विनियोजन हुने उनले आश्वासन दिए ।