समाचार

‘गोरे’ले लिए नेताको नाम, अब के होला ?

काठमाडौं । त्रिभुवन विमानस्थलबाट भित्रिएको भनिएको ३८ क्विन्टल सुन तस्करका नाइके ‘गोरे’ भनिने चुडामणि उप्रेतीले ‘सेटिङ’मा उपल्लो तहका नेताको संलग्नता रहेको बयान दिएका छन् ।

गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको संयोजकत्वमा गठित छानविन समितिसमक्ष गोरेले तस्करीमा विमानस्थलका कर्मचारी, प्रहरी र सत्ताको पहुँच र प्रभाव भएका नेताहरुको संरक्षणमै सुन ओसारपसार हुने गरेको रहस्य खोलेका हुन् ।

तर तस्करीमा कुनकुन नेताको संलग्नता छ भन्नेबारे समितिले कुनै तथ्य बाहिर ल्याएको छैन ।

गत माघ ७ गते भित्रिएको साढे ३३ किलो सुन हराएपछि तस्करीका नाइके गोरे नेतृत्वको समूहले उनकै सहयोगी सनम शाक्यलाई गत फागुन १८ गते मोरङको उर्लाबारीमा हत्या र त्रिभुवन विमानस्थलका कर्मचारी सानु बनको शंकास्पद मृत्युपछि सुरु भएको अनुसन्धानको पाटो राजनीतिक नेता÷कार्यकर्तासम्म पुगेको थियो । –कारोबार दैनिकबाट