समाचार

धन होइन मन भएका उर्लाबारीका सुन्दर

पथरी, मोरङ । शुरुवाती दिनमा श्रम गरेरै संघर्ष गरेका मोरङ उर्लाबारी–९ का सुन्दर श्रेष्ठले आफ्नो निजी खर्चमा समाजसेवामार्फत गाउँ विकास गरिरहेका छन् ।

कैले सडक बत्ती जडान त कैले विद्यालयमा विविध सहयोग । त्यत्तिमात्र होइन, खेलकुद तथा बाटोघाटो निर्माणमा पनि उनको सहयोग उदाहरणीय छ । चुनाव आएपछि यो गर्छु र त्यो गर्छु भन्ने नेताका लागि उनको यो काम यतिबेला गतिलो झापड भएको छ ।

सुन्दरलाई जान्ने बुझ्ने समाजसेवी तेजन खड्का भन्छन्, उनले गाउँका लागि महत्वपूर्ण सहयोग गरेका छन् । धन र मन दुवै भएका व्यक्तित्व हुन् सुन्दर । गाउँको विकास गर्ने हो भने इच्छाशक्ति र सहयोगी मन भएका व्यक्ति चाहिन्छ । सुन्दरले आफ्नै लगानीमा गाउँ नै सुन्दर बनाउँदै छन् । सुन्दर अर्थात् समृद्धियुक्त गाउँ ।

यो यात्रामा उनी निरन्तर लागिरहने प्रण गर्छन् । उनले विद्यालयमा सहयोग गरेका छन् भने गाउँ (राजघाट) मा सडक बत्ती जडान गरिदिएका छन् ।

उनले आफ्नै लगानीमा बाटोघाटो निर्माण गरेका छन् । खेलकुद तथा कला संस्कृतिमा पनि उच्च सहयोग गरेका छन् । सकारात्मक सोच बोकेर सहयोगका लागि हात फिँजाएर आएको मानिसलाई सुन्दरले अहिलेसम्म खाली हात फर्काएका छैनन् । उर्लाबारी–९ को प्रभात निमाविमा उनले मञ्च निर्माण गरिदिएका छन् । घेराबारामा पनि सहयोग गरेका छन् । यति मात्र होइन, सोही विद्यालयमा रङगरोगन गरेर चिटिक्क पारेका छन् ।

यस्तै, उर्लाबारी–९ कै राजघाट निमाविमा विद्यालयको घेराबारापछि गेट निर्माण गरिदिएका छन् । हाल सोही विद्यालयका १० जना विद्यार्थीको पठनपाठनको खर्च सबै आफैँले बेहोरेका छन् ।

सुन्दरले नै गर्दा गाउँको पोलपोलमा सडक बत्ती जडान भएको छ । गाउँ झलमल्ल भएको छ । सुन्दरको सहयोग यतिमै सीमित छैन, गाउँको किर्तन मण्डली, मठमन्दिर, खेलकुदमा पनि उनको सहयोग उच्च छ ।

सुन्दर भन्छन्, “धनभन्दा पनि मन भएर सहयोग गरेको हुँ । म त्यस्तो धनी मान्छे पनि होइन, यति हो खान लगाउन र समाजमा अलिकति सहयोग गर्न गाह्रो छैन ।” हाल उनले आफ्नो गाउँमा एकल लगानीमा बाटो खोलिदिएपछि खेत भित्रभित्र सम्म बाटो पनि बनेको छ ।