देश

वडाध्यक्ष सापकोटाले अनुपलाई बनाए छोरा

काठमाडौँ । कामपा–१४का वडाध्यक्ष शोपा सापकोटा नुवाकोटका पाँच वर्षीय अनुप न्यौपानेको अभिभावक बनेका छन् । आर्थिक रुपमा कमजोर अनुपका पिता छैनन् । कामपाका एक मात्र महिला वडाध्यक्ष सापकोटाको अभिभावकत्वसँगै अहिले न्यौपानेले कलङ्कीको नेपालय मन्टेश्वरीमा अध्ययन गर्न शुरु गरिसकेका छन् । उनको वार्षिक शुल्क रु एक लाख ३० हजार छ ।

सापकोटाले भने, “अनुपका पिता हुनुहुन्न, उनी तीन महिनाको गर्भमा हुँदा उनले बुबालाई गुमाएका हुन्, आर्थिक अवस्था पनि अत्यन्तै कमजोर छ, कसैको सहाराविना उनले पढ्न नसक्ने अवस्था देखेपछि म नै उनको अभिभावक बनेको हुँ । ”

आर्थिक अवस्था कमजोर भएकै कारण अनुपकी आमा यशोदाले अहिलेसम्म छोरालाई विद्यालय भर्ना गरेका थिएनन् । यशोदा अहिले ज्याला मजदूरी गरेर दैनिकी चलाइ रहेकी छन् । अब अनुपले पढ्न चाहेसम्मको पढाइ खर्च र स्वास्थ्योपचार गर्ने जिम्मेवारी वडाध्यक्ष सापकोटामा आएको छ ।