पर्यटन/संस्कृति

पर्यटनमैत्री नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा जोड

सिबी अधिकारी/काठमाडौँ । पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा लिएको सरकारले यसको पूर्वाधार विकास र प्रवर्धनात्मक गतिविधिलाई तीव्रता दिने भएको छ ।

संघीय संसद्को दुबै सदनको संयुक्त बैठकमा सरकारले सोमबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा पर्यटन पूर्वाधार निर्माण, प्रचारप्रसार र पर्यटक अनुकूल सेवा सुविधा उपलब्ध गराउने लक्ष्य लिएको हो ।
गुणस्तरीय पर्यटकको संख्या वृद्धि गर्ने नीति लिएको सरकारले प्रचलित पर्यटकीय गन्तव्यको विकास र स्तरोन्नति गरी थप पर्यटकीय गन्तव्य पहिचान र विकास गर्ने कार्यक्रमलाई समेत प्रमुख प्राथमिकतामा राखेको छ ।

पर्यटन क्षेत्रका महत्वपूर्ण विषयवस्तु समेटिएको नीति तथा कार्यक्रम पर्यटनमैत्री रहेको भन्दै पर्यटन व्यवसायीले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका हुन् ।

पूर्वाधार निर्माण, प्रचारप्रसार र पर्यटक अनुकूल सेवा सुविधा विस्तार गर्ने लक्ष्य सकारात्मक रहेको र छुटेका कतिपय विषयलाई आगामी बजेटमा समावेश गरिनुपर्ने उनीहरुको सुझाव छ ।

महत्वपूर्ण पूर्वाधारको रुपमा रहेको अन्तराष्ट्रिय विमानस्थल निर्माणको तीव्रतालाई व्यवसायीले सकारात्मक भनेका छन् ।

ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले तुलनात्मक रुपमा नीति तथा कार्यक्रमले पर्यटन क्षेत्रमा आशा जगाउने विषयवस्तु समेटेको बताउछन् ।

“पर्यटनमा समेटिएका विषय आशातित छन् पदयात्रा र पर्वतारोहणका जति पनि विषय छुटेका छन् त्यसलाई आगामी बजेटमा समेटिए अझ प्रभावकारी हुनेथियो,”–उनी भन्छन् ।

नियन्त्रित क्षेत्र मुस्ताङ, डोल्पालगायत पर्यटकीय गन्तव्यको सहजीकरण र पर्यटन प्रवेश शुल्कलाई एकद्वार प्रणालीको व्यवस्था गरिनुपर्ने उनको सुझाव छ । आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर बनाइने र दिगो विकासको लक्ष्य पूरा गर्ने लक्ष्य लिएको सरकारले कृषि ऊर्जा, उद्योग र पर्यटनलाई आर्थिक विकासका संवाहकका रुपमा अगाडि बढाएको छ ।

पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महतले नीति तथा कार्यक्रममा समेटिएका विषयलाई प्रभावकारीरुपले कार्यान्वयनमा लैजानसके पर्यटन क्षेत्रले ठूलो फड्को मार्ने बताउछन् ।

विमानस्थल निर्माण, पदयात्रा स्तरीकरण गर्ने तथा गुणात्मक पर्यटक भित्र्याउने सरकारको नीति सान्दर्भिक छ भन्दै उनी नेपाल भ्रमण वर्ष सन् २०२० को तयारीका लागि आवश्यक कार्यक्रमलाई पनि बजेटमा समावेश गरिनुपर्नेमा जोड दिन्छन् ।

सन् २०३० सम्म करिब ५० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको सरकारले सन् २०२० सम्म १५ लाख पर्यटक पु¥याउने कार्यक्रम तय गरेको छ । सन् २०१७ मा दश लाख पर्यटक नेपाल आएका थिए । सन् २०१८ को चार महिनामा करिब चार लाख पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

समग्रमा नीति तथा कार्यक्रम पर्यटनमैत्री भएको र पर्यटकीय पूर्वाधारलाई तीव्रता दिइनुपर्ने प्यासिफिक एसिया ट्राभल एशोसिएसन पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्य बताउछन् ।

“नीति तथा कार्यक्रम पर्यटन क्षेत्रका लागि सकारात्मक छ । मुख्य कुरा पूर्वाधार नै हो विमानस्थलको विषय प्राथमिकतामा पर्नुले निकै आशा जगाएको छ,”–उनी भन्छन् ।

होटल एशोसिएसन अफ नेपाल (हान) का महासचिव विनायक शाह पनि अहिलेको स्थिर सरकारले पर्यटन क्षेत्रका महत्वपूर्ण विषयलाई समेटेर ल्याएको नीति कार्यक्रम उत्साहजनक रहेको र कार्यान्वयन पक्षलाई प्रभावकारी बनाइनुपर्ने खाँचो औंल्याउछन् ।नेपालको हवाई उड्डायन क्षेत्रलाई थप सुरक्षित र प्रभावकारी बनाउन उच्चतम् प्रविधिको प्रयोग गर्ने समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारले हाल निर्माणाधीन गौतमबुद्ध विमानस्थल निर्माण गरी एक वर्षभित्र सञ्चालनमा ल्याउने, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तीन वर्षभित्र निर्माण गरी सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

यस्तै बाराको निजगढमा निर्माण हुने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य शुरु गरिने तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई क्षेत्र, हवाईमार्ग र विमानस्थलको पुनःसंरचना, स्तरोन्नति र विस्तार गर्ने विषय समेत नीति तथा कार्यक्रममा समेटिएको छ ।