साहित्य

प्रधानमन्त्रीले राष्ट्रकविलाई भनेः ‘राष्ट्रकविज्यू, तपाईले अब कुनै चिन्ता गर्नु पर्दैन, हामी बचाउँछौं

काठमाडौं । केही दिनदेखि अस्वस्थ रहेका राष्ट्रकवि माधव घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओली बचाउन आग्रह गरेका छन् । लेख्दै गरेको महाकाब्य पूरा गर्नुछ भन्दै त्यतिन्जेलसम्म आफूलाई बचाईदिन राष्ट्रकविले ओलीलाई आग्रह गरेका हुन् ।

प्रतिउत्तरमा प्रधानमन्त्री ओलीले चिन्ता गर्नु नपर्ने बताउदैँ भने, ‘राष्ट्रकविज्यू, तपाईले अब कुनै पनि चिन्ता गर्नु पर्दैन। उपचार नेपालमा सम्भव नभएमा तुरुन्तै तपाईलाई हामीले दिल्ली वा अन्य देशको राम्रो अस्पतालमा लैजान्छौं । राष्ट्रकवि घिमिरेलाई हौसला दिदैँ प्रधानमन्त्री ओलीले अघि भने, ‘तपाईँ त कति हो कति, धेरै बाँच्नुपर्छ, हामी बचाउँछौं तपाईलाई, छिटै विदेश लग्छौं’ ।

राष्ट्रकवि घिमिरे असोजको ६ गते १०० बर्षमा प्रवेश गर्दैछन् । राष्ट्रकविको मुटु, मिर्गौला तथा फोक्सोमा समस्या देखिएको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । राष्ट्रकवि घिमिरेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएका प्रम ओलीले अस्पतालबाटै उनको उपचारबारे भारतीय चिकित्सकलाई टेलिफोन गरी परार्मशसमेत गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दुन अर्यालले जनाएका छन् ।

एक सातादेखि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत राष्ट्रकवि घिमिरेको स्वास्थय अवस्थाबारे बुझन् प्रधानमन्त्री ओली सोमबार अस्पताल पुगेका थिए ।