समाचार

जथाभावी रुख काट्दा पहिरोको जोखिम

ललितपुर । जथाभावी रुख काट्दा पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको छ ।

ग्रामीण क्षेत्रमा प्राविधिक अध्ययनका आधारमा भन्दा पनि पहुँच भएका व्यक्तिको घर छुने गरेर बाटो बनाउँदा पहिरोको जोखिम रहेको जलउत्पन्न प्रकोप नियन्त्रण विभागले जनाएको छ ।

दुर्गम जिल्लाका धेरै ठाउँमा पहिरोको जोखिम रहेको विभागका उप–महानिर्देशक प्रदीप थापाले बताए । खुकुलो माटो भएका ठाउँमा बाटो खन्दा वर्षामा पहिरो आउँदा स्थानीय हैरान छन् । उनी भन्छन्, “प्राविधिक अध्ययनका आधारमा चट्टान कडा भएका ठाउँमा मात्रै बाटो खन्नुपर्छ । गलत ठाउँमा बाटो खन्दा बाटो मात्रै होइन सिंगो बस्ती नै पहिरोको जोखिममा परिरहेको छ ।”

स्थानीय निकायमा जनप्रतिनिधि आएपछि अधिकांशले सडक विस्तार प्राथमिकतामा राखेका छन् । नयाँ सडक बनाउँदा प्राकृतिक प्रकोपको जोखिम नहुने गरेर योजना बनाउनुपर्ने थापा बताउँछन् । पहिरोका कारण वर्षाका समयमा सडक बन्द हुँदा धेरै सडक हिउँदमा मात्रै चलिरहेका छन् । कतिपय स्थानमा खेतीयोग्य माटो बगाएर लैजाँदा उत्पादन कम भएको छ । कुलो सिँचाइलगायतका संरचना पहिरोका कारण मासिएका छन् । उनी भन्छन्, “अरु क्षति त छँदैछ सिंगो मानवबस्ती नै बगाउने जोखिम हुन्छ ।”

पहिरोको जोखिम भएको भिरालो जग्गामा रुख–बिरुवा रोप्नुपर्ने भएपनि यी ठाउँमा रुख–बिरुवा कम हुँदै गैरहेको छ ।