समाचार

राष्ट्रिय गौरवको प्रादेशिक सडक शिलान्यास

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय गौरवको प्रादेशिक सडकको शिलान्यास गरेका छन् ।

मुख्यमन्त्री शाहीले सोमबार दैलेख—डुंगेश्वर–दुल्लु–भैरवी–ब्याउली–कालीकोट–जुम्ला–मुगु गमगढी हुँदै नाक्चेलाग्ना जोड्ने प्रादेशिक सडकको शिलान्यास गरेका हुन् । उनले डोजर चलाएर सडकको शिलान्यास गरे ।

उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले भाषण गरेर देश नबन्ने भन्दै हरेक नागरिकले श्रम गर्नुपर्नेमा जोड दिए । उनले कर्णाली प्रदेशलाई पहिलोमा अर्गानिक र दोस्रोमा पर्यटकीय गन्तव्य बनाउने नीति लिइएको बताए ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशको आफ्नै विकासमैत्री सार्वजनिक खरिद ऐन निर्माण गर्ने बताए । योजनामन्त्री ज्वालाले बजेटको कमीले सडक बन्न नसक्ने अवस्था सिर्जना हुन नदिने विश्वास दिलाए ।

हचुवाका भरमा बजेट नदिने भन्दै उनले यो सडक प्रादेशिक वा संघीय आयोजना के हुने भन्नेमा छिट्टै छिनोफानो लाग्ने बताएका थिए । शिलान्यास कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्यद्वय अमरबहादुर थापा र सुशीलकुमार थापाले नेपाली भाषाको पहिलो शिलालेख दैलेखमा रहेको जनाउँदै नाक्चेलाग्ना जोड्ने यो प्रादेशिक सडकलाई पक्की सडक बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

डिभिजन सडक कार्यालय, सुर्खेतका निमित्त डिभिजन प्रमुख जगतबहादुर शाहले प्रादेशिक सडकको अन्तिम गन्तव्य नाक्चेलाग्ना भएपनि हाल डुंगेश्वर गाउँपालिकादेखि दुल्लु नगरपालिका भएर भैरवी गाउँपालिकासम्म ३३ किलोमिटर सडक निर्माण गरिने बताए ।

सडक निर्माणका लागि रु तीन करोड ३५ लाखमा टेण्डर भएको उनले जनाए । यद्यपि सो ठेक्का घटेर रु एक करोड ८७ लाखमा केएसके निर्माण सेवाले सडक निर्माण कार्यको जिम्मा लिएको डिभिजन सडक कार्यालयले बताएको छ ।

सडक शिलान्यासका साथै मुख्यमन्त्री शाही नेतृत्वको टोलीले दैलेख जिल्लामा रहेका धार्मिक पर्यटकीय क्षेत्र कोटिला मन्दिर, शिरस्थान ज्वाला क्षेत्र, नाभीस्थान, दुल्लु दरबार तथा खस संग्रहालय, भैरवी मन्दिरको स्थलगत अनुगमन गरेको थियो । अनुगमन गरिएका क्षेत्रमा शिरस्थान ज्वाला क्षेत्रमा प्रत्यक्ष देखिएको पेट्रोलियम पदार्थको अनुसन्धान तथा अन्वेषणका लागि विज्ञको टोली खटाउने मुख्यमन्त्री शाहीले जनाए ।

त्यसैगरी, अन्य क्षेत्रमा कोटिला, नाभीस्थान, भैरवीलाई धार्मिक तथा तत्कालीन कर्णाली खस साम्राज्यको शितकालीन राजधानीका रुपमा रहेको दुल्लु दरबारलाई ऐतिहासिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न प्रदेश सरकारले विशेष ध्यान दिने बताए ।