समाचार

रामग्राम र बाओजी सिटीबीच भगिनी सम्बन्ध

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका र चीनको बाओजी सिटीबीच भगिनी सम्बन्धका लागि सोमबार यहाँ सम्झौता भएको छ ।

बाओजी सिटी र रामग्राम नगरपालिकाले दाजुभाइ र दिदीबहिनीको सम्बन्धको लागि एक सम्झौतापत्रमा हस्ताक्षर गरी सो सम्बन्धलाई स्थापित गरेका छन् । बाओजी सिटीका उपमेयर मा युनले रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्रकुमार गुप्तासँग भेटघाट गरी दुवै देशका नगरबीच भगिनी सम्बन्ध स्थापित भएको छ ।

सो सम्झौतामा दुवै देशका नगरपालिकाले गर्ने विकास निर्माण तथा कृषि विकासको काममा सहयोग आदानप्रदान हुने रामग्राम नगरपालिकाले जनाएको छ ।

त्यस्तै, बाओजी सिटीका उपमेयरलाई नवलपरासीको सदरमुकाममा रहेको पृथ्वीचन्द्र अस्पतालमा पनि अवलोकन तथा भेटघाट गराइएको थियो । सो अवसरमा त्यहाँको अवस्था तथा प्रविधिको बारेमा छलफल भएको थियो ।

त्यहाँ भएको प्रविधि पुरानो तथा केही प्रविधिको व्यवस्था नभएका कारणले अलपत्र परेको जानकारी गराइएको थियो । त्यसैक्रममा बाओजी सिटीका उपमेयरले आफ्नो नगरपालिका फर्केपछि अतिआवश्यक प्रविधिको सहयोगसमेत गर्ने बताए ।

रामग्राम नगरपालिकाभित्र रहेको रामग्राम स्तुप, कृषि क्षेत्र र औद्योगिक क्षेत्रको विकास गर्न विशेष सहयोग हुने बाओजीका उपमेयरले बताए । सो कार्यक्रममा चीनको बाओजी सिटीबाट आएको टोलीमा विभिन्न ठूलठूला औद्योगिक क्षेत्रका उद्योगीको पनि उपस्थिति रहेको थियो ।