समाचार

चामल अभाबपछि सरकारी तवरबाट बितरण गर्न लगिएको स्थानमा नै खोसाखोस

जाजरकोट । बारेकोट गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । हिउँदेबाली उत्पादन शून्य भएपछि खाद्यान्न अभाव भएको हो । बारेकोटमा गत वैशाख तेस्रो साता परेको असिनापानीले गहुँ, जौलगायत अन्नबाली सखाप पारेको थियो । खाद्य संस्थानको घाटस्थित डिपोमा नियमित चामल नआउँदा संकट गहिरिएको छ ।

असिनाले बारेकोट गाउँपालिकाका ९ वटै वडामा लगाएको अन्नबाली तथा तरकारी र फलफूल खेती पूर्णरूपमा नष्ट हुँदा करोडौंको क्षति भएको छ । घरमा मौज्दात अन्न सकिएको र नयाँ बाली असिनाले सखाप पारेपछि बारेकोटमा खाद्यान्न अभाव भएको स्थानीयले बताए ।

बारेकोटको घाट डिपोमा पर्याप्त चामल नपाइने गरेको स्थानीय नवराज शाहीले बताए । डिपोमा कहिलेकाहीँ पुग्ने चामल स्थानीयबीच खोसाखोस हुने गरेको छ । चामलका लागि ४र५ घन्टा पैदल हिंडेर डिपोमा पुगेका स्थानीय १० किलो पनि नपाउँदा रित्तो हात फर्कने गरेका छन् । ‘बारेकोट गाउँपालिकाका २० हजार बासिन्दा खाद्य संकटको मारमा परेका छन्,’ उनले भने । प्रायस् खाद्य अभाव हुने बारेकोटमा यस वर्ष असिनाले अन्नबाली सखाप पारेपछि संकट निम्तिएको उनले बताए ।

खाद्य संकट खेपिरहेका बारेकोटवासीले घाट डिपोमा तत्काल पाँच हजार क्विन्टल चामल आपूर्तिको माग गरेका छन् । यस क्षेत्रमा धानलगायत अन्न उत्पादन कम हुने भएकाले स्थानीय बर्सेनि खाद्य अभावको मारमा पर्ने गरेका छन् । डिपोमा नियमित चामल वितरणको व्यवस्था नहुँदा समस्या भएको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए ।

डिपोमा अहिले ५० क्विन्टल पनि चामल मौज्दात नरहेको अध्यक्ष शाहले जनाए । खाद्य अभाव भएपछि स्थानीय बासिन्दा मोटो चामल पनि ६० रुपैयाँ प्रतिकिलोमा किनेर गुजारा चलाउन बाध्य छन । खाद्य संस्थानको अनुदानको चामल नपाउँदा स्थानीयले पसलको महँगो चामल किनेर गुजारा चलाउने गरेका छन् ।

अध्यक्ष शाहका अनुसार असिनाले बारेकोटको हजारौं रोपनी पाखो तथा खेतबारीमा लगाएको बाली सखाप पार्दा हजारौं किसान अन्नविहीन बन्न पुगेका छन् । खाद्य संस्थानका शाखा प्रमुख रामबहादुर बस्नेतले भने घाट डिपोका लागि ९ सय क्विन्टल चामल ढुवानी भइसकेको दाबी गरे ।

घाट डिपोसम्म सडक मार्गको पहुँच नहुँदा चामल ढुवानीमा समस्या भएको शाखा प्रमुख बस्नेतले बताए । डिपोमा चामलको कोटा बढाइदिन स्थानीयबाट माग आएको उनले स्वीकारे । ‘अन्नबाली उत्पादन शून्य भएपछि घाट डिपोमा १० हजार क्विन्टल चामल खपत हुने अवस्था आएको छ,’ उनले भने ।

कान्तिपुरमा छापीएको आजको समाचार अनुसार, चालु आर्थिक वर्षमा घाट डिपोबाट एक हजार क्विन्टल नियमित कोटा र एक हजार क्विन्टल थप कोटाको चामल ढुवानी सुरु भएको उनको भनाइ छ । जिल्ला खाद्य व्यवस्थापन समितिको गत जेठ २ गतेको बैठकले खाद्य संकट प्रभावित बारेकोटमा पाँच हजार क्विन्टल चामल निस्शुल्क वितरण गर्नका लागि सम्बन्धित निकायसँग माग गर्ने निर्णय गरेको थियो ।

शाखा प्रमुख बस्नेतका अनुसार संस्थानले जिरा मसिनो, मोटा, मकवानपुर, अरुवा मध्यम चामल प्रतिकिलोको ३६ देखि ६० रुपैयाँमा उपलब्ध गराउने गरेको छ । खाद्य व्यवस्थापन समितिको बैठकले बारेकोटको खाद्य संकटलाई टार्न पीडितलाई निस्शुल्क चामल वितरण गर्ने र सक्लामा खाद्य संस्थानको उपडिपो तथा घाटमा नुनको डिपो स्थापनाका लागि माथिल्लो निकायसँग माग गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए ।

जुम्ला र डोल्पासँग जोडिएको विकट बारेकोटमा चरम खाद्य अभाव रहेको प्रदेशसभा सांसद कृष्ण शाहले बताइन् । बारेकोट गाउँपालिकाका ९ वटै वडामा असिनापानीले सम्पूर्ण खेती नष्ट पारेको र खाद्य संस्थानको घाट डिपोमा पर्याप्त चामलको व्यवस्था नहुँदा स्थानीय भोकमरीको मारमा पर्न गएको सांसद शाहको भनाइ छ ।