समाचार

सेनाद्वारा प्रतियोगीताका उत्कृष्टहरुलाई पुरस्कार वितरण

काठमाण्डौ । नेपाली सेनाद्वारा आयोजित “लघु चलचित्र प्रतियोगिता—२०७४” का उत्कृष्ट लघु चलचित्र तथा “सिपाही वार्षिक र द शिवपुरी जर्नल” का उत्कृष्ट लेखकहरुलाई आज प्रधानसेनापति राजेन्द्र क्षत्रीले जङ्गी अड्डास्थित सभामण्डपमा आयोजित एक विशेष समारोहका बीच पुरस्कार वितरण गरेका छन् ।
“लघु चलचित्र प्रतियोगिता—२०७४” मा प्रथम हुने संजिव पौडेलकोे लघु चलचित्र ‘अटुटनाता’, द्वितीय हुने शम्भुसेन थापाको लघु चलचित्र ‘त्याग’ र तृतीय हुने प्रधुम्न मिश्रको लघु चलचित्र ‘ईतिहास निर्माणको यात्रामा’ लाई क्रमशः दुई लाख, एक लाख ५० हजार र एक लाख नगद पुरस्कार र प्रशंसा–पत्र प्रदान गरिएको थियो भने प्रतियोगितामा चौथो हुने विकाश लामाको लघु चलचित्र ‘विजेता’ र पाचौं हुने जोन गुरुङको लघु चलचित्र ‘वैशाखी’ लाई सान्त्वना पुरस्कार स्वरुप जनही २५ हजार र प्रशंसा–पत्रका साथै प्रतियोगीताका सम्पुर्ण प्रतियोगीहरुलाई प्रमाण–पत्र समेत प्रदान गरिएको थियो ।

नेपाली सेनाको वार्षिक प्रकाशन “सिपाही वार्षिक—२०७४” तथा “द शिवपुरी जर्नल–२०१८” मा प्रकाशित लेख रचनाहरु मध्ये प्रथम हुने सहायक रथी श्री धर्म बहादुर बानियाँ को शिवपुरी जर्नलमा प्रकाशित ‘Diplomacy: An Integral Component of the National Security of Small States’, द्वितीय हुने प्रमुख सेनानी रन्जीत थापाको सिपाही वार्षिकमा प्रकाशित ‘The Use of Force: Drawing a Line Between Theory and Reality’ र तृतीय हुने प्रमुख सेनानी पदम बहादुर बुढाको शिवपुरी जर्नलमा प्रकाशित ‘Vulnerable Cyberspace’ शीर्षकका लेखकहरुलाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कारका साथै कदर(पत्र प्रदान गरिएको थियो भने अन्य ७ जना लेखकहरुलाई समेत सान्त्वना पुरस्कार स्वरुप जनही नगद १० हजार र कदर(पत्र प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा लघु चलचित्र प्रतियोगिताका निर्णायक मण्डल र लेख रचनाका निर्णायक मण्डललाई समेत प्रशंसा–पत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो । सो समारोहमा रथीबृन्द, प्राध्यापकहरु, नेपाली सेनाका अधिकृतहरु, संचारगृहका प्रबद्र्धक र सम्पादकहरु, चलचित्रकर्मी कलाकार तथा श्रष्टाहरु र उल्लेख्य संख्यामा संचारकर्मीहरुकोसमेत उपस्थिति रहेको थियो ।

प्रत्येक वर्ष नेपाली सेनाले आयोजना गर्दै आएको लघु चलचित्र प्रतियोगितामा विभिन्न विषयवस्तु समावेश गरी चलचित्र क्षेत्रका सफल व्यक्तित्व र विज्ञहरुद्वारा मुल्याङ्कन समिति गठन गरी उत्कृष्ट लघु चलचित्रहरुलाई पुरस्कृत गर्दै आईरहेको छ । यस किसिमको प्रतियोगिताले राष्ट्र प्रति जिम्मेवार र कर्तव्यनिष्ठ रही सन्देशमूलक लघु चलचित्रहरु उत्पादन गर्नमा उल्लेखनीय भूमिका खेल्ने एवं नेपाली चलचित्र क्षेत्रमा अग्रसर, स्थापित तथा नवप्रवेशी कलाकार र चलचित्र निर्माताहरुलाई चलचित्र निर्माण गर्न प्रोत्साहित गर्नुको साथै नेपालको कला, संस्कृति र पहिचानलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वासलिएको नेपाली सेनाको जनसम्पर्क कार्यालयले जनाएको छ ।