स्वास्थ्य

विद्यालय छाडेकाहरुलाई फर्काउने नीति

काठमाडौँ । सरकारले औपचारिक शिक्षा छाडेका बालबालिकालाई फर्काउने कार्यक्रम ल्याउने भएको छ ।

राष्ट्रपतिबाट आज संघीय संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा विद्यालय छाड्ने कारणबारे अध्ययन अनुसन्धान गरी सुधार कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेको छ । सरकारी आँकडानुसार आधारभूत तहमा करीब ८ प्रतिशत विद्यार्थीले कक्षा छाड्ने गरेका छन् भने ४ दशमलव ८ प्रतिशत विद्यार्थी अझै विद्यालय बाहिर छन् । “भर्ना अभियानलाई प्रत्येक वर्ष अभियानका रुपमा सञ्चालन गरिनेछ । यसै शैक्षिक सत्रदेखि कक्षा १ मा भर्ना भएका सबै विद्यार्थीले माध्यमिक शिक्षा पूरा गर्ने व्यवस्था मिलाइनेछ”, सरकारको नीति तथा कार्यक्रममा भनिएको छ ।

सरकारका नीतिकार्यक्रममा विद्यालय पढ्ने उमेर नाघेकालाई प्राविधिक र व्यावसायिक सीप प्रदान गर्ने, खुला तथा वैकल्पिक शिक्षा दिने, शिक्षामा निजी लगानीको नियमन, शैक्षिक विषमता हटाउने, हरेक प्रदेशमा अपाङ्गता भएकाको प्रकृतिअनुरुप विशेष शिक्षा आवासीय विद्यालय सञ्चलन गर्ने पनि कार्यक्रममा छ ।

प्रदेशमा प्राविधिक तथा व्यावसायिक महाविद्यालय स्थापना गर्ने र उच्च शिक्षालाई विशिष्टीकरण गर्ने कार्यक्रम समावेश गरिएको छ । अघिल्लो वर्षको नीतिकार्यक्रममा रहेको नमूना विद्यालय घोषित गरी अनुदान दिने नीति र साक्षरता अभियानबारे यस वर्षको नीति कार्यक्रममा कुनै उल्लेख छैन ।