खेलकुद

मुख्य प्रशिक्षकमा धर्ममान नियुक्त

काठमाण्डौ । टेबलटेनिसका मुख्य प्रशिक्षकमा धर्ममान बज्राचार्य नियुक्त भएका छन् । बज्राचार्यलाई मिति २०७५/०२/०२ को सदस्य सचिव स्तरिय निर्णयानुसार सोहि मिति देखि लागु हुने गरि मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ।

काठमाण्डौ जिल्ला खेलकुद बिकास समितिमा कार्यरत टेबलटेनिस प्रशिक्षक बज्राचार्यलाई समान पद, श्रेणी तथा सेवा कायम रहने गरि मुख्य टेबलटेनिस प्रशिक्षकमा नियुक्त गरिएको तालिम तथा प्रशिक्षण विभाग, प्राविधिक प्रशासनका उप–निर्देशक विमल कुमार पोखरेलद्वारा हस्ताक्षरित पत्रमा जनाईएको छ ।
मुख्य प्रशिक्षक बज्राचार्य दक्षिण एशियाली खेलकुदका एक रजत र ४ कास्य पदकधारी खेलाडी हुन् । उनले सन् १९८६ मा जापानबाट सोलिडारिटी कोचेज कोर्ष गरेका छन् । यस्तै टेबलटेनिसमा अन्तराष्ट्रिय स्तरमा सवैभन्दा बढि पदक प्राप्त गर्न सफल खेलाडी रहेका उनले २०६२ सालमा काठमाण्डौमा सम्पन्न ३ महिने प्रशिक्षक प्रशिक्षण तालिम लिएका छन् । १७ राष्ट्रिय प्रतियोगिता खेलेका बज्राचार्यले २ पटक जुनियर र ५ पटक पुरुष एकलमा च्याम्पियन भएको उनी स्वयंले जानकारी गराएका छन् ।