देश

राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी बनाइने

काठमाडौँ । सरकारले महिला सशक्तीकरणका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई थप प्रभावकारी बनाउने भएको छ ।

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रममा कानून कार्यान्वयनको प्रभावकारिता बढाई बलात्कार, यौनशोषण, मानव ओसारपसार र बेचबिखन तथा महिलाविरुद्ध हुने सबै प्रकारका हिंसाजन्य कार्यलाई निर्मूल गरिने तथा महिला हिंसाको प्रमुख कारण अशिक्षा, अभाव, अन्धविश्वास र पछौटेपन हटाउने विशेष अभियान सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे ।

समाजका राम्रा मूल्यमान्यतालाई संरक्षण गरी बालविवाह, दाइजो, तिलक, बोक्सी, छाउपडी, जातीय भेदभाव, उत्पीडन तथा छुवाछूत एवं सामाजिक कुरीति उम्मूलन गरिने प्रतिबद्धता नीति तथा कार्यक्रममा उल्लेख छ ।

सबै जाति, वर्ग, लिङ्ग र समुदायलाई राष्ट्रिय मूल प्रवाहमा आबद्ध गरी लोपोन्मुख धर्म, भाषा र संस्कृतिको संरक्षण गर्ने नीति सरकारले लिनेछ । सरकारले धार्मिक आस्था, प्रथा वा प्रचलनका कारणले कसैलाई कुनै आघात वा मर्का पर्ने व्यवहार हुन नदिने नीति तथा कार्यक्रममा प्रतिबद्धता व्यक्त गरेको छ ।