पर्यटन/संस्कृति

फेवा–रारा अभियान सम्पन्न

पोखरा । सामुदायिक वन उपभोक्ता महासंघ कास्कीको आयोजनामा पोखराको पर्यटकीयस्थल फेवाताल र मुगुस्थित नेपालकै सबैभन्दा ठूलो रारा ताललाई पर्यटकीय रुपमा जोड्ने अभियानका साथ फेवा–रारा अभियान सम्पन्न भएको छ ।

फेवा र रारातालबीचको पर्यटकीय साझेदारीमा सहयोग पु¥याउने उद्देश्यका साथ गत वैशाख ३१ गतेदेखि यही जेठ ६ गतेसम्म अभियान सञ्चालन गरिएको महासंघका अध्यक्ष कालीदास सुवेदीले जानकारी दिनुभयो । उनका अनुसार महासंघ नेतृत्वको टोलीले फेवा र रारा तालमा भएका गतिविधिका साथै रारा फेवाको यात्रामा पर्यटकलाई आइपर्ने कठिनाइसमेतलाई स्थलगत रुपमा अध्ययन अवलोकन गरेको छ । अभियानबाट नेपालले उपलब्ध प्राकृतिक साधनस्रोतको अधिकतम उपयोग गरेमा आर्थिक समृद्धिको यात्रा तय गर्न सक्ने स्पष्ट आधार प्राप्त भएको उनले उल्लेख गरे ।

टोलीमा संलग्न महासंघका उपाध्यक्ष जीतबहादुर बस्नेतले रारा ताल महत्वपूर्ण पर्यटकीयस्थल रहेर पनि आसपासका विपन्न वर्गका स्थानीय बासिन्दाको जीवनस्तरमा अपेक्षित सुधार नभएको जानकारी दिए । “पर्यटकीयस्थलको विकासका साथै अन्य पूर्वाधार तयार गर्दा जैविक विविधता र वातावरण संरक्षणमा जोड दिइनुपर्छ, स्थानीयवासीको जीवनस्तर उकास्ने खालका गतिविधि सञ्चालन गरिनु अपरिहार्य छ ”, उनले भने ।

अभियानका क्रममा रारा पुगेको महासंघको टोलीले जेठ ३ गते आफ्नो ऐतिहासिक बैठकसमेत सम्पन्न गरेको महासंघका महासचिव सुनमाया नेपालीले जानकारी दिए । उक्त टोलीमा सञ्चारकर्मीसहित २० जनाको सहभागिता थियो ।