देश

प्रहरीलाई दुईदिने यस्तो तालिम दिईयो

काठमाडौँ । राष्ट्रिय सूचना आयोग र प्रहरी प्रधान कार्यालयको आयोजनामा प्रहरीलाई सूचनाका हक, सूचना प्रवाह र सञ्चार प्रविधिसम्बन्धी दुईदिने प्रशिक्षण दिइएको छ ।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले जनताको भरोसाको केन्द्रविन्दु नेपाल प्रहरीले संस्थागत पारदर्शिता कायम गरी सूचना सम्प्रेषण गर्ने उचित संयन्त्रको विकास गर्नुपर्ने बताए ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी, संविधान र कानुनी प्रावधानअनुसार सूचना प्रवाह गर्न संवेदनशील भई पूर्ण सजगताका साथ अगाडि बढ्दै आएको बताए । प्रहरी नायब महानिरीक्षक डा राजीव सुब्बाले नेपाल प्रहरीका प्रवक्ता तथा सूचना अधिकृतलाई सूचनाको हक सम्बन्धमा आफ्नो भूमिकासम्बन्धी जानकारी दिनु प्रशिक्षणको उद्देश्य रहेको बताए ।

सो अवसरमा प्रमुख आयुक्त बाँस्कोटाले नेपालमा सूचनाको हकसम्बन्धी व्यवस्थाबारे प्रस्तुतीकरण गर्दै सूचनाको हकको परिचय, ऐन तथा सुशासन ऐनले सार्वजनिक निकायलाई दायित्व र आयोगले सम्पन्न गरेका कार्यबारे तथा आयोगका आयुक्त किरण पोखरेलले नेपालमा सूचनाको हक र खुला सरकारी तथ्याङ्कसम्बन्धी व्यवस्थाबारे प्रस्तुतीकरण दिएको थियो ।