पर्यटन/संस्कृति

एक वर्षभित्र गौतमबुद्ध एयरपोर्ट बनिसक्ने

काठमाडौँ । सरकारले आगामी एक वर्षभित्र गौतमबुद्ध विमानस्थलाई निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने भएको छ ।

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को वार्षिक नीति तथा कार्यक्रममा हाल निर्माणाधीन गौतमबुद्ध विमानस्थललाई निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने उल्लेख छ ।

हाल सो विमानस्थलको निर्माण कार्य ४० प्रतिशत सम्पन्न भएको छ । आयोजना प्रमुख ओम शर्माकाअनुसार विमानस्थल निर्माण प्रक्रियाले गति लिएकाले आगामी एक वर्षभित्र सकिनेछ । यस्तै धावनमार्ग, टर्मिनल भवन, टावरलगायतको कामसमेत सम्पन्न हुने चरणमा पुगेको छ ।

धावनमार्ग, पार्किङस्थल, टर्मिनल भवन आगामी मंसिर मसान्तभित्र सम्पन्न हुनेछ । आयोजना प्रमुख शर्माले भने– “आगामी असोजदेखि धावनमार्ग कालोपत्र गर्ने काम शुरु गरिनेछ, बढीमा छ महिनाभित्र धावनमार्ग कालोपत्र भइसक्नेछ ।”

एसियाली विकास बैंक, नेपाल नागरिक उड्डयन प्राधिकरणको करिब रु सात अर्ब लागतमा निर्माण भइरहेको सो विमानस्थल नेपालको पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा लिइएको छ ।

सरकारले सन् २०३० सम्म करिब ५० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको र सन् २०२० सम्म १५ लाख पर्यटक पु¥याउने कार्यक्रम तय गरेको छ । सन् २०१७ मा दश लाख पर्यटक नेपाल आएका थिए । सन् २०१८ को चार महिनामा करिब चार लाख पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा पर्यटन क्षेत्रलाई लिएको हुँदा सरकारले विमानस्थल निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको हो ।

यस्तै निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने लक्ष्य पनि राखिएको छ । सरकारको आज सार्वजनिक नीति तथा कार्यक्रममा पोखरा विमानस्थल निर्माणलाई तीव्र पारी पर्यटन प्रवद्र्धनमा योगदान दिने उल्लेख छ ।

कूल २२ अर्ब लागतमा निर्माण भइरहेको सो विमानस्थल प्रधानमन्त्री केपी शर्मा ओली यसअघि प्रधानमन्त्री भएका बेला शिलान्यास गर्नुभएको थियो । सो विमानस्थलको दुई हजार ५०० मिटर लामो धावन मार्ग एक हजार २०० मिटर लामो ट्याक्सी पार्किङ स्थल, दश हजार वर्ग मिटरको अन्तर्राष्ट्रिय टर्मिनल भवन, पाँच हजार वर्गमिटरको आन्तरिक टर्मिनल भवनहरु निर्माण हुनेछन् ।

चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङ कम्पनीले निर्माण शुरु गरेको चार वर्षभित्रमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालको पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिमा सो विमानस्थल अत्यन्तै महत्वपूर्ण हुनेछ ।

सरकारको प्रतिबद्धताअनुसार तोकिएको समयमा विमानस्थल निर्माण कार्य सम्पन्न गराउन नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत विशेष जोड दिएको बताएको छ । प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले निर्माणाधीन विमानस्थलको कामलाई तोकिएको समयमा पूरा गराउन प्राधिकरण लागिपरेको बताउनुभयो । उनले भने, “राष्ट्रिय लक्ष्य पूरा गर्न र सरकारको सोचलाई पूरा गराउन प्राधिकरणले हदैसम्मको प्रयास गर्दछ ।”

यस्तै बाराको निजगढमा निर्माण हुने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य शुरु गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । सो विमानस्थल कुन ढाँचामा निर्माण गर्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केही समयभित्रै आवश्यक निर्णय गर्ने जनाएको छ ।

हाल नेपाली सेनाले सो विमानस्थलको चार किल्ला घेर्ने, निर्माणस्थलको सुरक्षा, रुख कटानलगायतको काम अगाडि बढाएको छ । लामो समयदेखि कुन ढाँचामा विमानस्थल निर्माण गर्ने भन्ने विषयमा कुरा नमिल्दा विमानस्थल निर्माण प्रक्रियाले गति लिन सकेको थिएन । सरकारले नीति तथा कार्यक्रममा नै सो विमानस्थल निर्माण कार्यलाई गति दिने विषय समावेश गरेपछि सकारात्मक सन्देश प्रवाह भएको छ ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई क्षेत्र, हवाई मार्ग र विमानस्थलको पुनः संरचना, स्तरवृद्धि र विस्तार गर्ने विषय समेत सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ । यस्तै सञ्चालनमा रहेका आन्तरिक विमानस्थलको स्तरवृद्धि र धावनमार्ग सुधार तथा विस्तार गर्ने लक्ष्यसमेत राखिएको छ ।

नेपालको हवाई उड्डयन क्षेत्रलाई थप सुरक्षित र प्रभावकारी बनाउन उच्चतम् प्रविधिको प्रयोग गर्ने समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारले पर्यटन पूर्वाधार निर्माण, प्रचारप्रसार र पर्यटक अनुकूल सेवा सुविधाको विस्तार गर्ने लक्ष्य राखेको छ । गुणस्तरीय पर्यटकको संख्या वृद्धि गर्ने नीति लिएको सरकारले प्रचलित पर्यटकीय गन्तव्यको विकास र स्तरोन्नति गरी थप पर्यटकीय गन्तव्य पहिचान र विकास गर्ने कार्यक्रमलाई समेत प्रमुख प्राथमिकतामा राखेको छ ।