समाचार

हिमशिखर क्षेत्रमा फोहोर गर्नेलाई दण्डित गरिने

काठमाडौँ । सरकारले सगरमाथा र अन्य उच्च हिमशिखर एवं आसपासमा क्षेत्रको सफाइमा विशेष ध्यान दिने र ती क्षेत्रमा फोहोरजन्य क्रियाकलाप गर्नेलाई दण्डित गर्ने जनाएको छ ।

सरकारले आज आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वच्छ पानीको स्रोतका रुपमा रहेका हिमाल तथा हिमतालको संरक्षण गर्ने तथा जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनका कार्यक्रम सञ्चालन गरिने जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै जैविक विविधता र वातावरणको संरक्षण एवं व्यवस्थापन, भूक्षय नियन्त्रण र नदी मुहान तथा किनारा संरक्षण गरिने उल्लेख गरे ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको कार्यान्वयनलाई प्रभावकारी बनाइने तथा पहाडी भूभाग र चुरे क्षेत्रका ताल एवं पोखरी निर्माण गरी वर्षात्को पानी संकलन गर्ने व्यवस्था मिलाइने नीतिमा जनाइएको छ । त्यस्तै वन व्यवस्थापनलाई वैज्ञानिक बनाइने, उच्च मूल्यका स्थानीय वातावरण अनुकूलनका वन, फलफूल जडीबुटी तथा कृषिजन्य वन पैदावारको खेती विस्तार, मूल्य अभिवृद्धि र बजारीकरणलाई प्रोत्साहन गर्ने नीति सरकारले प्रस्तुत गरेको छ ।

सरकारी निजी, सहकारी र सामुदायिक साझेदारीमा वन पैदावारमा आधारित उद्योग स्थापना तथा मुख्य शहरलाई हरित् शहरका रुपमा विकास गरिने वर्तमान सरकारको नीति तथा कार्यक्रम छ ।