राजनीति

पार्टी एकताका लागि आह्वान

पर्सा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राप्रपा(प्रजातान्त्रिक)लाई पार्टी एकीकरणका लागि आह्वान गरेका छन् ।

वीरगञ्जमा आजदेखि शुरु भएको राप्रपाको तीनदिने राष्ट्रिय परिषद् बैठकको उद्घाटन गर्दै अध्यक्ष थापाले पार्टी एकीकरणका लागि आफू बाधक भए पदबाट राजीनामा दिन तयार भएको बताए । उनले हिन्दू राष्ट्र र राजसंस्थाका पक्षधर राष्ट्रवादी शक्तिबीचको एकतामा जोड दिँदै उनले पुराना तीता कुरालाई बिर्सेर पार्टी एकीकरण गर्न आह्वान गरे ।

पार्टी वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष राजीव पराजुली, महामन्त्री तथा सांसद राजेन्द्र लिङ्देनलगायतले सनातन हिन्दू राष्ट्र र राजसंस्था जस्तो विषय पार्टीले छाडेको कारण गत निर्वाचनमा पार्टीले हारको सामना गर्नुपरेको उल्लेख गरे । बैठकले पार्टीको अगामी रणनीति, राष्ट्रको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण र आगामी कार्यदिशा तय गर्नेछ ।