शिक्षा

शिक्षामन्त्री पोखरेलले गरे यस्तो घोषणा

काठमाडौँ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अबको दुई वर्षमा भूकम्पका कारण क्षति पुगेको सबै विद्यालय निर्माण गरिसक्ने घोषणा गरेका छन् ।

आज यहाँ दरबार हाई स्कूलले पुनः निर्माणको सम्बन्धमा आयोजना गरेको कार्यक्रममा दबार हाइस्कूल जस्ता भूकम्पले क्षति पुगेका सबै विद्यालग निर्माण हुन अब धेरै समय नलाग्ने बताएका हुन् ।

मन्त्री पोखरेलले भने, “दरबार हाइस्कूल पुरानो हो, अन्य विद्यालयभन्दा फरक र आकर्षण हुनुपर्छ सोही अनुरुप निर्माण कार्य अघि बढाउनु आवश्यक छ ।”

काठमाडौँ महानगरपालिका र पुरातत्व विभागबीच नक्सापासको विषयमा नमिलेको कुरा मिलाएर एक हप्ताभित्र नक्सा पास गर्न पनि मन्त्री पोखरेलले कामपालाई आग्रह गरेका छन् ।

कामपाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले उक्त विद्यालय निर्माणका लागि अबको एक हप्तामा नक्सा पास गरिसक्ने बताएका छन् ।

उक्त विद्यालाय ऐतिहासिक भएकाले नक्सापास गर्नका लागि पुरातत्वको अनुमति आवश्यक पर्ने भएकाले अन्य विद्यालयको नक्सापासभन्दा झन्झट भएको कामपा–२७ का वडा अध्यक्ष चिनियामान महर्जनले बताए ।

राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रतिनिधि दिलीप श्रेष्ठले २०७२ सालको भूकम्पले गर्दा सात हजार ५०० विद्यालयमा क्षति पुगेको र हालसम्ममा तीन हजार ६०० निर्माण गरिसकेको जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक बद्रीप्रसाद दहालले कामपाबाट नक्सा भएसँगै भत्काउनका लािग बोलपत्र आवह्वान गरिनेछ । १० रोपनी जग्गामा रहेको उक्त विद्यालयमा हाल १५० जना विद्यार्थी पठनपाठन गर्दै आएका छन् । यसअघि इँट्टा र सिमेन्टबाट बनेको विद्यालय अब सबै आधुनिक निर्माण सामग्रीबाट बन्नेछ ।