समाचार

भिस्वा बजार खुम्चिँदै

वीरगञ्ज । संघीय नेपालको आर्थिक मानचित्रमा ऐतिहासिक भिस्वा बजार खुम्चिँदै गएकामा स्थानीयवासी र व्यापारीले चिन्ता व्यक्त गर्न थालेका छन् ।

कुनैबेला आर्थिक विकास र समृद्धितर्फ लम्किरहेको भिस्वा बजारले ७० वर्षको इतिहास बोकेको छ । नेपाल– भारतको सीमा क्षेत्रमा रहेको उक्त बजार माओवादी द्वन्द्वको मारमा परेका कारण अहिलेसम्म गुमेको आफ्नो आर्थिक साख फिर्ता पाउन सकेको छैन ।

करीब १० हजार जनसंख्या बसोबास गर्ने गरेको भए पनि राज्यको न्यूनतम सेवा सुविधा समेत उपलब्ध हुन सकेको छैन । कुनै बेला आर्थिक व्यापारका रुपमा सवल मानिएको यो बजार हालसम्म गुलजार हुन सकेको छैन ।

नेपाल–भारतको सीमा क्षेत्रमा रहेको उक्त बजारका बासिन्दा भरपर्दो उपचार सेवा तथा आवश्यक सुविधाबाट वञ्चित रहँदै आएका छन् । यहाँका ९० प्रतिशत बासिन्दा भारतीय नूनमा निर्भर छन् । बैंक तथा वित्तीय संस्था र विद्युत् महसुल बुझाउने काउन्टरको अभावमा भिस्वावासी पोखरिया र वीरगञ्ज धाउनुपरेको छ ।

छिपहरमाई गाउँपालिकाअन्तर्गत पर्ने भारतीय सीमासँग जोडिएको भिस्वावासीलाई करीब १५ किलोमिटर ग्राभेल र धुलाम्य बाटो तय गरी विद्युत् महसुल बुझाउन आउनु पर्ने बाद्यता छ ।

“बस र रिक्सा भाडा नै विद्युत् महसुलभन्दा बढी खर्च हुन्छ,” स्थानीयवासी दिनेशप्रसाद कानुले भने । थोरै विद्युत् महसुल बुझाउन अतिरिक्त रकम खर्च गर्नुपर्ने बाध्यता छ । विद्युत् महसुल बुझ्ने काउन्टरका लागि माग गर्दा पनि सुनुवाइ भएको छैन ।

यहाँ गतिलो स्वाथ्य चौकीसमेत छैन । सामान्य रुघाखोकीको उपचारका लागि यहाँका बासिन्दाले पोखरिया र वीरगञ्ज तथा भारतको सिक्टा बजारकै भर पर्नुपर्छ । स्वास्थ्य चौकी भएपनि दक्ष जनशक्ति र औषधि अभाव छ ।

भारतीय सीमासँग जोडिएको व्यापारिक नाका हो भिस्वा बजार । यहाँ बैंकिङ सुविधा छैन । बैंक नहुँदा व्यापारी र स्थानीयवासीले सास्ती भोग्नुपरेको छ । सशस्त्र द्वन्द्वका बेला हटाइएको बैंक अझै पुनःस्थापना भएको छैन । बैंक पुनःस्थापना नहुँदा यहाँका बासिन्दा भारतको सिक्टा बजारमा रहेको भारतीय स्टेट बैंकमा कारोवार गर्न बाध्य भएका स्थानीय व्यापारी जमालुदिन मियाँ बताउँछन् ।

भिस्वामा नाम मात्रको छोटी भन्सार कार्यालय छ । कार्यालय सहयोगी मात्र रहेको सो कार्यालय बन्द सरह छ । सिमावर्ती भारतको बेतिया नरकटियागञ्जलगायत ठाउँबाट दैनिक सिक्टाको नाका भएर भारतीय नम्बर प्लेटका गाडी नेपाल प्रवेश गर्छन् । यही नाकाबाट अवैध रुपमा सामान आयात गरेर भित्री मधेशका बजार गुलजार भए पनि भिस्वा बजार सुनसान छ ।

यहाँ छिपहर माता शक्ति पीठ छ । उक्त ऐतिहासिक मठ मन्दिरलाई पर्यटकीयरुपमा विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिन्छ । भिस्वा बजारले गुमाएको आर्थिक साख पुनः प्राप्ति गर्न इमान्दारीपूर्वक सबै अगाडि बढ्नु पर्ने हुन्छ ।