शिक्षा

विद्यालयबाट फर्किंदा छोरा रक्ताम्य भएर आए भने अभिभावकलाई कस्तो लाग्ला ?

काठमाडौँ । बिहान हाँसीखुशी विद्यालय गएका छोराछोरी विद्यालयबाट फर्किंदा रक्ताम्य भएर आए भने अभिभावकलाई कस्तो लाग्ला ? आजकल विद्यालयमा पढ्न जाने अबोध ससाना नानीहरुले कुटाइ खाएका समाचार दिनदिनै बढ्न थालेका छन् ।

चितवनको भरतपुर –१० स्थित सैनिक आवासीय महाविद्यालयमा अध्ययनरत छात्र श्रीनव लामिछानेकी आमा सिर्जना लामिछानेले पनि आफ्नो छोरामाथि यस्तै अप्रिय घटना व्यहोर्न बाध्य भएका छन् ।

विद्या आर्जन गरेर भविष्यमा ठूलो मानिस बन्ने अभिलाषा बोकी सो महाविद्यालयमा कक्षा ९ मा अध्ययनरत तथा महाविद्यालयकै छात्रावासमा बस्ने श्रीनव लामिछानेमाथि आफ्नै तीनजना साथीले गत वैशाख २८ गते राति मरणासन्न हुने गरी कुटपिट गरेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा घाइते विद्यार्थी लामिछानेले जानकारी दिए ।

घाइते लामिछानेले भने, “मेरै कक्षामा अध्ययन गर्ने तीनजना साथी कृष थापा, रिवाज रेग्मी तथा अनिस श्रेष्ठले मार्ने उद्देश्यले मेरो घाँटी थिचेर कुटपिट गर्नुका साथै भित्ता र धाराको टुटीमा मेरो टाउको ठोक्काइ दिँदा टाउकामा गम्भीर चोट लागेर बेहोस भएको थिएँ ।”

पत्रकारलाई वितरण गरिएको एक प्रेस विज्ञप्तिमा आमा सिर्जना लामिछानेले छोरा श्रीनवमाथि कुटपिट गर्दा धाराको टुटीसमेत भाँचिएको र छोरा रक्ताम्य भई बेहोस हुँदासमेत विद्यालयले कुनै खबर नदिएको तथा छोरा लिन विद्यालय जान खोज्दा विद्यालयभित्र नपठाएको र प्रिन्सिपललाई भेट्न नदिएको गुनासो गरेका छन् ।

छोरालाई काठमाडौँ ल्याई ग्राण्डी अस्पतालमा उपचार गराइएको जानकारी दिँदै उनले छोरालाई घाइते हुनेगरी कुटपिट गर्नेमाथि कारबाही गर्न माग गरे ।

घाइते श्रीनवका बाजे शरदचन्द्र पौडेलले नाति श्रीनव भाग्यले बाँचेको बताउँदै उसलाई मार्ने उद्देश्यले कुटपिट गर्नेमाथि कडा कारबाही गर्न सरकारसँग माग गरे ।