पर्यटन/संस्कृति

हलेसी उत्कृष्ट पर्यटकीय गन्तव्यः सह–महामन्त्री महत

खोटाङ । नेपाली काँग्रेसका सह–महामन्त्री डा प्रकाशशरण महतले हलेसीलाई एसियाकै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने बताएका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–७ स्थित किराँत समुदायको ऐतिहासिकस्थल तुवाचुङ जायजुममा सामूहिक चुलो पूजा एवं साकेला नाच कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले हिन्दू, किराँत र बौद्ध धर्मालम्बीको धार्मिकस्थलका रुपमा हलेसीको प्रचारप्रसार गरेर उत्कष्ट गन्तव्यस्थलका रुपमा विकास गर्न सकिने औँल्याए ।

नेता महतले हलेसीको पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना निर्माण एवं गुरुयोजना कार्यान्वयनमा जोड दिए । किराँत समुदायको उद्गम थलो मानिने तुवाचुङ जायजुमलाई पनि पर्यटकीय क्षेत्रकारुपमा विकास गर्दै आर्थिक समृद्धि प्राप्त गर्न सकिने उनको भनाइ थियो । तुवाचुङ जायजुममा संसारभरका किराँत समुदायलाई ल्याउने वातावरण बनाउन महतले सुझाव दिए ।

तुवाचुङ जायजुममा ११ समूहले विभिन्न प्रकृतिका साकेला शिली प्रदर्शनी गरेका थिए । उक्त स्थानमा किराँती सभ्यताका आदिम पूर्खाहरु तयामा, खियामा र रैछाकुलेको प्रतीमा प्रतिस्थापन गरिसकिएको छ ।