पर्यटन/संस्कृति

‘पुष्पलाल राष्ट्रिय पुरस्कार’ तीन स्रष्टालाई

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पुष्पलाल राष्ट्रिय पुरस्कार’ विभिन्न विधामा तीन स्रष्टालाई प्रदान गर्ने भएको छ ।

राजनीतिक–सैद्धान्तिक विधामा तनहुँ रम्जकोटका लक्ष्मीभक्त उपाध्याय लम्साल, इतिहास विधामा कास्की मादीका डा जगमान गुरुङ तथा साहित्य, संस्कृति र विज्ञानतर्फ पाल्पा मदनपोखराका विष्णु प्रभातलाई प्रदान गर्ने निर्णय भएको मन्त्रालयले जनाएको हो ।

पुरस्कार छनौट समितिको सिफारिसमा २०७४ सालको ‘पुष्पलाल राष्ट्रिय पुरस्कार’ आजको मन्त्रीस्तरको निर्णयअनुसार तीन उल्लेखित स्रष्टालाई प्रदान गरिने निर्णय भएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाली राजनीतिक आन्दोलनका अगुवा स्व पुष्पलालले नेपाली वाम प्रजातान्त्रिक आन्दोलनमा गर्नुभएको योगदानको उच्च कदर गर्दै उनको नाममा उक्त पुरस्कार स्थापना गरिएको हो । सरकारले आव २०६८÷६९ देखि नेपाली राजनीति आन्दोलन तथा सैद्धान्तिक, राजनीतिक खोज अनुसन्धान र लेखन कार्यमा लागेका व्यक्ति वा संस्थालाई प्रदान गरिँदै आएको छ ।