साहित्य

राष्ट्रकविको जन्मस्थलमा जन्मशताब्दी मनाइने

बेंसीशहर, लमजुङ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मशताब्दीको अवसरमा उनको जन्मस्थलमा विविध कार्यक्रम गरिने भएको छ ।

घिमिरेको जन्मस्थल लमजुङको मस्र्याङ्दी गाउँपालिकाअन्तर्गत पुस्तुन गाउँ र बेँसीशहरमा विविध कार्यक्रम गरिने भएको हो । मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले आज सदरमुकाम बेँसीशहरमा सरोकारवाला भेला गराई राष्ट्रकविको जन्मशताब्दी कार्यक्रमको बारेमा जानकारी गराएको हो ।

राष्ट्रकविको उपाधि पाउनुभएका घिमिरेलाई सम्मान गर्दै नयाँ पुस्तामा साहित्यप्रतिको आकर्षण बढाउन अन्तर्राष्ट्रियस्तरको कार्यक्रम तय गरिएको प्रतिष्ठानका अध्यक्ष डा मुकुन्द पथिकले बताए ।

जन्मशताब्दीको अवसरमा राष्ट्रकवि घिमिरेलाई जन्मस्थल पुस्तुन गाउँ र सदरमुकाम बेँसीशहरमा प्रधानमन्त्रीको समुपस्थितिमा विशेष सम्मान कार्यक्रम गर्ने, दुवै ठाउँमा घिमिरेको प्रतिमा बनाउनेलगायत कार्यक्रम तय भएको प्रतिष्ठानले जनाएको छ ।

यससँगै मुलुकभरका विद्यालय, क्याम्पसमा कविता महोत्सव गर्ने, काठमाडौँमा मातृभाषा कविगोष्ठी, विचारगोष्ठी र घिमिरेको सार्वजनिक रथारोहण, नागरिक अभिनन्दन, हुलाक टिकट प्रकाशन, जन्मगाउँ अगाडिको हिमाल घिमिरेको नाममा नामाकरण, उनकै नाममा संग्रहालय बनाउनेसम्मका योजना बनाएको प्रतिष्ठानले जनाएको छ ।