पर्यटन/संस्कृति

कीर्तिमानी आरोही कामीरिताको अझै सगरमाथा आरोहणको चाहना

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको २२ पटक सफल आरोहण गरेर कीर्तिमान कायम गरेका कामीरिता शेर्पाले स्वास्थ्यले साथ दिए अर्को पटक पनि सगरमाथा आरोहण गर्ने बताए ।

आरोहण सकेर आज घर फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो काम आरोहण गर्ने भएकाले स्वास्थ्य राम्रो भए आगामी वर्ष पनि सगरमाथा चढ्ने बताए ।

आरोही शेर्पालाई स्वागत गर्न उल्लेख्य संख्यामा आफन्त र सुभेच्छुक विमानस्थल पुगेका थिए । सोलुखुम्बुका कामीरिता शेर्पाले यही जेठ २ गते सगरमाथाको २२ पटक सफल आरोहण गरेका थिए । कीर्तिमानी शेर्पाका बारेमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विशेष समाचार सामग्री प्रस्तुत गरेका थिए ।

यसअघि कामीरितासहित आप्पा शेर्पा र फुर्वा तासी शेर्पाको नाममा २१ पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम थियो । चौबीस वर्षको उमेरमा सगरमाथा आरोहण शुरु गर्नुभएका कामीरिताले संसारका अग्ला शिखरको आरोहण गरिसकेका छन् ।

यसैबीच सगरमाथा आरोहणको आज आठौँ दिन पनि आरोहण जारी रह्यो । यद्यपि, आज के कति संख्यामा आरोही चुुचुरोमा पुगे भन्ने विवरण आइनसकेको आधार शिविरमा रहेका सम्पर्क अधिकृति ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आज पनि धेरै संख्यामा आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् उनीहरुको विवरण संकलन भइरहेको छ ।

सगरमाथा आरोहणको सातौँ दिनसम्म शनिबार २७७ जना आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए ।

वैशाख ३० गते आठजना शेर्पा आरोहीबाट सगरमाथाको चुचुरोसम्म डोरी टाँगेपछि यस वर्षको आरोहण शुरु भएको थियो ।

वसन्त ऋतुको यो याममा चार नेपालीसहित ३८ आरोही दलका ३६४ आरोही शिखर चुम्ने अभियानमा छन् ।