राजनीति

नेता खनालको आक्रोशः ओली र नेपालले म माथि षड्यन्त्र गरे

काठमाडौं । एमाले र माओवादीबीच हालै भएको एकता घोषणा कार्यक्रममा अनुपस्थित रहेका नेकपाका वरिष्ठ नेता झलनाथ खनालले वरियता तलमाथि भएकामा गम्भीर आपत्ती प्रकट गरेका छन् । चीनबाट फर्केपछि एक अन्तर्वार्तामा उनले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालप्रति वरियतालाई लिएर रोस प्रकट गरेका हुन् ।

ओली र नेपालको मिलेमतोमा आफूविरुद्ध षड्यन्त्र भएको नेता खनालको भनाई छ । नेता खनालले आफू अनुपस्थित हुने मौका हेरी पार्टी एकताको मिति तय गरिएको आरोप लगाउदैँ उनले भनेका छन्, जे होस, मेरो अनुपस्थिति हुने हिसाबकिताबका आधारमा यो एकताको कुरा अघि बढाइयो, त्यो ऐतिहासिक क्षणमा म उपस्थित हुन पाइन, मलाई अत्यन्त ठूलो दुःख छ, तर, एकता मुलुक र जनताको आवश्यकता थियो, यो इतिहासको आवश्यकता थियो, तर यो प्रक्रियामा मलाई सहभागी हुनबाट बञ्चित गरियो, त्यसप्रति भने म खेद प्रकट गर्छु ।

वरियताक्रम खस्काउने काम आफूलाई कुनै पनि हालतमा स्वीकार्य नभएको बताउदैँ नेता खनालले अघि भने, यसप्रति मेरो गम्भीर आपत्ति छ । र म यो दुःख व्यक्त गर्न चाहन्छु । मेरो अनुपस्थितिमा मेरो मुल्यांकन स्वयं कमिटीले पनि गर्न सक्दैन, तर, म अनुपस्थित भएको अवस्थामा कमिटीमा छलफल नगरी जुन ढंगले वरियतालाई तलमाथि गर्ने काम भएको छ, यसप्रति मेरो गम्भीर आपत्ति रहेको सबैमा जानकारी गराउछु, यो कुरालाई म कुनै हालतमा स्वीकार गर्दिन ।

नेता खनालले पार्टी भित्र पार्टी अध्यक्ष ओली र नेता नेपालको मिलेमतोमा अन्य नेताहरुमाथि अन्याय भएको बताए । उनले पार्टी एकताका क्रममा पार्टी उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेलमाथि पनि अन्याय भएको बताए ।

पूर्व प्रधानमन्त्री एवम् तत्कालिन एमालेका वरिष्ठ नेता समेत रहेका खनालले आफ्नो वरियताबारे पार्टीभित्र कुरा गर्ने बताए ।