समाचार

कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै यहाँको सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

आवासमा बसेका आफ्नै साथीहरुले भरतपुर महानगरपालिका–१० निवासी सिर्जना पौडेल लामिछानेका छोरा १४ वर्षीय श्रीनव लामिछानेलाई मार्ने उद्देश्यका साथ कुटपिट गरेको भन्दै मुद्दा दर्ता गरिएको हो । लामिछानेले जाहेरी दिएपछि त्यही कक्षा ९ मा अध्ययनरत १४ र १५ वर्षीय दुई किशोरविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार ती बालकलाई नियन्त्रणमा लिएर जिल्ला अदालत चितवनमा पाँच दिनका लागि म्याद थप गरी अनुसन्धान थालिएको छ । दश वर्षभन्दा माथिका बालबालिकाले गर्ने बालबिज्याई विरुद्धमा मुद्दा लाग्ने गर्दछ । दश वर्षमुनिका बालबालिकाको विरुद्धमा भने उनीहरु मानसिक रुपमा अपराध गर्न नसक्ने भन्दै मुद्दा लाग्दैन । तीन बालकलाई हिरासतमा नराखी संरक्षणमा राखेर अनुसन्धान गरिएको उनले बताए ।

पीडित बालकका तर्फबाट दिइएको किटानी जाहेरीमा छोराको दायाँ आँखाको छेउमा गहिरो चोट लागेको, आँखा मुनिको हड्डी भाँचिएको उल्लेख छ । घाँटीमा हातले थिच्दा नीलडाम परेको छ भने दुवै आँखामा रगत जमेको जनाइएको छ । हाल ती बालकको काठमाडौँमा उपचार भइरहेको छ । ती बालकलाई शौचालयमा गएका बेला तीन जना मिलेर घाँटी अँठ्याई भित्तो र धारोमा ठोकेको परिवारले जनाएको छ । बालक चिच्याएर पाले आएपछि उनीहरु भागेको घाइते बालकले बताएका छन् । यही वैशाख २९ गते बिहान ३ बजे यो घटना भएको थियो ।