कृषि

कृषि उद्यम सम्मेलन शुरु

काठमाडौँ । युवालाई कृषिमा आर्कषित गराउने उद्देश्यले आजदेखि काठमाडौँमा दुई दिने कृषि उद्यम सम्मेलन शुरु भएको छ । फोरएच नेपालले आयोजना गरेको सो सम्मेलनमा सबै जिल्लाका १६५ युवाको सहभागिता छ ।
युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले उक्त सम्मेलन शुभारम्भ गर्दै कृषिको परनिर्भरता कम गर्न युवाको आर्कष बढाउनुपर्नेमा जोड दिए ।
गत वर्षदेखि शुरुवात भएकोे युवा आर्कषित कृषि जनचेतना कार्यक्रम यसवर्ष मुलुकका सबै जिल्लामा सञ्चालन गरिने आयोजक संस्थाका अध्यक्ष लोकराज अवस्थीले जानकारी दिए ।

पछिलो पटक वैदेशिक रोजगारबाट फर्किआएका युवा कृषिमा आर्कषित भए पनि स्वदेशमा रहेका युवाको पलायन नरोकिएका कारण खेतबारी बाँझो हुने क्रम रोकिएको छैन । आँगनबाट मकैको थाङ्ग्रो हराएको छ । चोयाको भकारी फाटेका छन् । काठको ढुकुटी कीराले धुजाधुजा पारेको छ । सोली, डाला र थुन्चे बुइँगेलमा थन्किएका छन् भने कृषिको परनिर्भरता बढेर प्रति महिना रु एक अर्ब भन्दा बढीको चामल आयात हुन थालेको छ ।

कृषिमा सरकारी अनुदानले युवालाई आर्कषित गर्न सकेको छैन । सरकारले कृषिको आधुनिकीकरण, व्यवसायीकरण तथा यान्त्रिकीकरणको कुरा गरिरहे पनि र कृषि कर्जाको ब्याजदर छ प्रतिशत तोके पनि काम गर्न चाहाने युवालाई सरल रुपमा वित्तीय संस्थाबाट कर्जा लगानी भएको पाइँदैन ।