समाचार

‘कमलराज रेग्मी वर्ष पुरस्कार’ जिसीलाई

रामपुर । साहित्य तथा स्वास्थ्य प्रतिष्ठान पाल्पाले पाल्पाली साहित्यकार, समाजसेवी एवं राजनीतिज्ञ झपेन्द्र जिसीलाई ‘कमलराज रेग्मी वर्ष पुरस्कार’ २०७४ दिएको छ ।

जिसीलाई योगदानको मूल्यांकन गर्दै आज रु २५ हजार, दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको हो । प्रतिष्ठानले जिल्लाका दश सामुदायिक विद्यालयका गरीब तथा जेहन्दार दश विद्यार्थीलाई रु तीन हजारका दरले विमला कमल चारवर्षीय शैक्षिक छात्रवृत्ति पनि वितरण गरेको छ । प्रतिष्ठानले सम्मानित विद्यार्थीलाई कक्षा ९ देखि १२ कक्षासम्म निःशुल्क पढाउने छ ।

प्रतिष्ठानका संस्थापक संरक्षक डा प्रकाशराज रेगमीले साहित्य क्षेत्रको विकास गर्न साहित्यकारको सम्मान हुनुपर्ने बताए । नेपाल रेडक्रस सोसाइटी जिल्ला सभापति बुद्धिप्रसाद शर्माले स्व रेग्मी बहुआयमिक व्यक्तित्व भएको बताए ।

प्रतिष्ठानका आजीवन सदस्य भोजराज भट्टराईले दश विषयलाई आधार मानेर एक जनालाई छनोट गरिएको बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक दयाराज बस्याल, नगर प्रमुख अशोककुमार शाही, वरिष्ठ पत्रकार मेघराज शर्मालगायतले आगामी दिनमा पनि यस्तै रचनात्मक काम गर्न प्रतिष्ठानसँग आग्रह गरे ।