समाचार

प्रदेश नं २ का सञ्चारमाध्यमलाई राहतपूर्ण वर्गीकरण गर्न आग्रह

महेन्द्रनगर । नेपाल पत्रकार महासंघ प्रादेशिक समिति प्रदेश नं २ ले पत्रपत्रिकाको वर्गीकरण गर्दा प्रदेश नं २ का पत्रिकालाई राहतपूर्ण सूचीमा राख्न प्रेस काउन्सिल नेपालसँग आग्रह गरेको छ ।

प्रादेशिक समितिका अध्यक्ष दीपेन्द्र चौहानको अध्यक्षतामा जनकपुरमा बसेको बैठकले गत वर्ष आएको बाढीका कारण प्रदेश २ का सञ्चारमाध्यम प्रभावित भएको तथ्य मनन गर्दै विनाभेदभाव वर्गीकरण गर्न सुझाव दिएको छ ।

पत्रकार महासंघ प्रादेशिक समितिको कार्यालय व्यवस्थापन तथा सञ्चालन प्रदेश २ को प्रशासनिक मुख्यालय जनकपुरमा गर्ने भएकाले त्यसको लागि आवश्यक व्यवस्थापनको जिम्मा महासचिव किरण कर्ण र कार्यालय सञ्चालनका लागि आवश्यक भौतिक सामग्रीको व्यवस्थापनको जिम्मा कोषाध्यक्ष प्रवीण साहलाई दिइएको छ । प्रादेशिक समितिको अर्को बैठक आउँदो असारमा वीरगञ्जमा बस्ने भएको छ ।