समाचार

विशेष, संरक्षित तथा स्वायत्त क्षेत्र घोषणाका लागि सिफारिस

बाबियाचौर, म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाले अल्पसंख्यक छन्त्याल समुदायको बाहुल्यता रहेका दुईवटा वडालाई विशेष, संरक्षित तथा स्वायत्त क्षेत्र घोषणाका लागि सिफारिस गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९९को उपदफा २ को क, ख र ग अनुसार १ नम्बर वडा गुर्जा, उपदफा ख अनुसार ५ नम्बर वडा मल्कवाङलाई विशेष संरक्षित तथा स्वायत्त क्षेत्र घोषणाका लागि सिफारिस गरिएको गाउँपालिकाले जनाएको छ ।

भौगोलिक विकटता, दुर्गम, पृथक् भाषा, संस्कृति र जीवनशैली भएका अल्पसंख्यक छन्त्याल समुदायको सघन बसोबास रहेको आधारमा विशेष, संरक्षित तथा स्वायत्त क्षेत्र घोषणाका लागि गत बिहीबार बसेको कार्यपालिका बैठकले प्रदेश र संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको कार्यपालिकाका प्रवक्ता झकबहादुर छन्त्यालले बताए ।

एक सय ९१ घरधुरी रहेको गुर्जा र ३०४ घरधुरी भएको मल्कवाङमा ९० प्रतिशतभन्दा बढी छन्त्याल समुदायको बसोबास रहेको छ । परम्परागत रूपमा खानी खन्ने पेशा अङ्गाल्दै आएका छन्त्याल समुदाय नेपालका अल्पसंख्यक जातिमा सूचीकृत छन् ।

नजिकको बस्ती लुलाङदेखि आठ घण्टा पैदल हिँडेपछि पुगिने गुर्जा र सडक सुविधा नपुगेको मल्कवाङ शिक्षा, स्वास्थ्य, सञ्चारलगायत विकासका पूर्वाधारको पहुँचदेखि टाढा छ । संवैधानिक व्यवस्थाअनुसार विशेष, स्वायत्त तथा संरक्षित क्षेत्र घोषणा गरेर बजेट, नीति तथा कार्यक्रममा प्राथमिकता दिएर विकासको पहुँच बढाउन पहल गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए ।