राजनीति

प्रधानमन्त्रीमा ओली ५ बर्ष निरन्तर रहलान् ?

काठमाडौं । आशंकै आशंकाबीच एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको छ । यो एकीककरण प्रक्रियामा सुरुदेखि नै सक्रिय भूमिका खेल्ने एक व्यक्ति थिए, विष्णु पौडेल ।

ओली दाहाल दुवैसँग उत्तिकै समदूरी बनाएर उनले दुवै नेताको मन मात्र जितेनन्, शक्तिशाली कम्युनिस्ट पार्टीको महासचिवको पदसमेत हात पारे । यसै सन्दर्भमा पौडेलसँग पार्टी एकता प्रक्रिया र भावी नेतृत्वका विषयमा गरिएको कुराकानी आजको कान्तिपुरमा छापिएको छ ।

स्पष्ट भनिदिनुहोस्, अहिलेकै प्रधानमन्त्री ५ बर्षसम्म निरन्तर रहनुहुन्छ की हुँदैन ?

यो प्रश्न गर्ने आधार र परिस्थिति नै छैन । यो सरकारलाई नेपाल कम्युनिष्ट पार्टीबाहेक संघीय समाजवादी फोरम र राजपालगायतको समर्थन छ । तर नेकपा स्वयंसँग करिब दुई तिहाइ मत छ । विशेष गरी त्रिशंकू संसदका कारण यसअघि मुलुकले जुन प्रकारको राजनीतिक अस्थिरता र अनिश्चयबाट गुज्रनुपर्यो, त्यो स्थितिको पुनरावृत्ति हुँदैन । किनभने दुई तिहाइ मत छ र अरु दलको समर्थन पनि छ ।

त्यसैले अब पनि अस्थिरता होला कि भन्ने चिन्ता गर्नु पर्दैन । अब मुलुक राजनीतिक अवस्थाबाट गुज्रनुपर्नेछैन । नेकपाले नेतृत्व गर्छ । नेकपाको नाताले केपी ओलीले नेतृत्व गरिरहनुभएको छ । प्रधानमन्त्रीको प्रश्नमा अस्थिरता गाँसिएको हो भने, अब अस्थिरता हुँदैन ।