प्रवास

अमेरिका हिडेकी सुमित्राको जीवनलिला समुद्रमै बिलायो

काठमाडौं, जेठ ६ । विशाल समुद्रमा पानीजहाज चढेर विभिन्न देशका यात्रु गन्तव्यतिर बढिरहेका हुन्छन् ।

जहाजभित्र एकाध दिनलाई पुग्ने पानी र खाद्यान्न छ, तर केही घण्टामा गन्तव्यमा पुग्ने भनिएको जहाजले बाटो बिराउँछ । जहाज विशाल समुद्रमा कैयौं दिन हराइरहन्छ ।

प्रोडक्सन म्यानेजरको हैसियतमा चार्ल्स इलेस्टोले हस्ताक्षर गरेको पत्र । पत्रमा ५ नेपाली कलाकारलाई छायांकनका निम्ति हैटी बोलाइएको उल्लेख छ ।

खानेकुरा सकिएर यात्रु हैरान हुन्छन् । यत्तिकैमा खान नपाएर छटपटिइरहेकी एक युवतीको मृत्यु हुन्छ । जहाजका अन्य यात्रुले लास गन्हाउँछ भनेर ती युवतीको शव समुद्रमै फालिदिन्छन् ।

सोच्नुहोला, यो कुनै अंग्रेजी चलचित्रको कारुणिक दृश्य–कथा हो । यथार्थ त्यस्तो होइन । यो त्यही सत्य घटना हो, जसमा तीन नेपाली युवतीसमेत प्रत्यक्ष साक्षी थिए ।

केही महिनाअघि हैटीको राजधानी पोर्ट औं प्रिन्सबाट छुटेको पानीजहाज ‘क्यारेबियन सी’ मा १८ दिनसम्म हराएर टापु राष्ट्र बहामास पुगेको थियो ।

उक्त पानीजहाजभित्र पानी र खाना नपाएर भक्तपुरकी सुमित्रा कुँवरको मृत्यु भयो । उनीसँगै रहेका दुई युवती सकुशल फर्किएपछि घटना बाहिर आएको हो ।

अमेरिका लगिदिने सपना देखाएर मानव तस्करले भारतको दिल्ली हुँदै विभिन्न देश पुर्‍याइएका तीनमध्ये २ नेपाली युवती महिनौंसम्म चरम संकट, अभाव, निराशा र सास्ती खेपेर सकुशल फर्किएका हुन् ।

९ महिनाभन्दा धेरै समय विभिन्न देशमा सास्ती खेप्दै बल्लतल्ल फर्केका ती युवतीले ६० लाख रुपैयाँभन्दा बढी गुमाएका छन् ।

कान्तिपुरले ती युवतीसँग फरक–फरक समयमा गरेको कुराकानीमा उनीहरूले आफ्नो परिचय सार्वजनिक गर्न हिच्किचाए ।

ऋण काढेर अमेरिका हिँडेका ती दुवैले आफू ठगिएको कथा सार्वजनिक भए पारिवारिक र सामाजिक सम्बन्धमा समस्या आउने भन्दै नाम नछापिदिन आग्रह गरे ।

आफूलाई अमेरिका लैजान फकाउने र लाखौं रकम बुझ्ने मानव तस्करबारे पनि उनीहरू खुल्न चाहँदैनन् । प्रहरीको सहयोग लिने पनि तत्काल योजना छैन ।

‘फसेको पैसा सकेसम्म आफैं उठाउने प्रयासमा छौं,’ एक युवतीले भनिन्, ‘यो घटना घरपरिवारले थाहा नपाऊन् भनेर प्रहरी नगुहारेका हौं ।’

अमेरिका लैजाने भनी भारत हुँदै वैध र अवैध तरिकाले विभिन्न देश पुर्‍याइएका तीन युवतीको कथाले नेपालीमा रहेको अमेरिकामोह मात्र होइन, मनग्गे कमाइ हुने आसमा अवैध बाटोबाट अमेरिका पस्न मानव तस्करको हात समात्ने नेपालीको प्रवृत्तिलाई पनि दर्शाउँछ । -कान्तिपुर दैनिकबाट