स्वास्थ्य

हनुमन्तेबाट १० टन फोहोर तह लगाईयो

भक्तपुर । यस बर्षलाई हनुमन्ते सफाई वर्ष घोषणा गर्दै सञ्चालन भएको भक्तपुरमा १२ औं हप्ताको हनुमन्ते सरसफाइमा आज १० टन फोहोर संकलन गरिएको छ ।

आज भक्तपुरको सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिका जोड्ने कौशलटार–बालकोट पुल क्षेत्रमा भएको सरसफाइमा १० टन फोहोर संकलन भएको हनुमन्ते सफाई अभियन्ता पुष्कर गजुरेलले जानकारी दिए ।

गत फागुन १९ गतेदेखि हनुमन्ते सफाई शुरु गरिएकोमा तीन महिनाको अन्तरालमा फेरि १० टन फोहोर जम्मा भएको भन्दै प्रतिनिधिसभा सदस्य महेश बस्नेतले हनुमन्तेमा फोहोर फाल्नेलाई कडा कारबाही गर्नुपर्ने बताए ।

हरेक साताको शनिबार हुँदै आएको हनुमन्ते सरसफाइ अभियानमा सूर्यविनायक नगरपालिका, मध्यपुर थिमि नगरपालिका, विभिन्न गैरसरकारी संघसंस्था, विद्यार्थी, स्थानीयवासी लगायत करिब २०० जनाको सहभागिता रहेको थियो ।